दाङ – को तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ ।
शिक्षकलाई तीन दिने तालिम प्रदान गरेपछि ती शिक्षकले विद्यालयमा विद्यार्थीलाई अक्षर सुधार गर्न सिकाउने उनले बताए । ‘हामीले विद्यार्थीका अक्षर सुधारका लागि अभियान थालेका छौँ, पहिलो चरणमा तुलसीपुरका सबै विद्यालयबाट शिक्षक बोलाएर तालिम प्रदान गरेका छौँ, ती शिक्षकले विद्यार्थीलाई अक्षर सुधार गर्न लागाउनुहुनेछ’, उनले भने ।
विद्यार्थीले ज्ञान आर्जन गरेको कुरा परीक्षामा व्यक्त गर्ने माध्यम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्त्वपूर्ण रहने जनाउँदै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । उनले भने, ‘पढेर मात्रै हुँदैन, पढेको कुरा अक्षरमा उतार्नुपर्ने र लेखेको कुरा सबैले बुझ्ने हुनुपर्छ । तर, हामी जति ज्ञानी भए पनि अक्षर कसैले नबुझ्ने भएमा त्यसले कुनै प्रभाव पार्दैन, त्यसैले हामीले यो अभियान अघि बढाएका हौँ ।’
पहिलो चरणमा अक्षर सुधारका लागि शिक्षकलाई तालिम दिएको र त्यो कुरा व्यवहारमा उतारेको–नउतारेको कुराको विद्यालयमै गएर अनुगमन पनि गरिने उनले बताए । शिक्षकले अक्षर सुधार कार्य एकदमै महत्त्वपूर्ण रहेको बताएका छन् । मावि प्रतापकोटका शिक्षक मेघराज पोख्रेलले भने, ‘हामीले अझै पनि अक्षर लेख्न पनि जानेका रहेनछौँ, बाक्य संरचना कसरी मिलाउँदा अक्षर सुन्दर हुँदो रहेछन्, भन्ने कुरा ख्याल रहेनछ । शिक्षकले अक्षर सुधार गरेमा सोहीअनुसार विद्यार्थीलाई पनि सिकाउन सजिलो हुन्छ, त्यसैले यो कार्य एकदमै राम्रो छ ।’
विद्यार्थीलाई राम्रो लेख्न भनि निर्देशन गर्ने तर, कसरी राम्रो अक्षर लेख्ने भन्ने कुराको तरिका शिक्षकलाई नै थाहा नहुने अवस्था रहेको भन्दै यो कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।
धेरै विद्यार्थी अक्षरकै कारण फेल हुने गरेको भन्दै अक्षर पनि शिक्षणको महत्त्वपूर्ण पाटो रहेको प्रशिक्षक हिमाल डाँगीले बताए । ‘धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुनुभएको छ, भने केहीले सोचेजस्तो अङ्क पनि ल्याउन सक्नुभएको छैन, त्यसैले पनि अक्षर सुधार अपरिहार्य छ’, उनले भने ।
संस्थागत विद्यालयले अक्षरलाई पनि ध्यान दिने तर, सरकारी विद्यालयले अक्षरमा त्यति ध्यान नदिँदा पनि समस्या भएको उनले बताए ।
रासस