कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित

Image
maya metro

कैलाली – जिल्लामा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यो वर्ष पनि अभाव हुने देखिएको छ।

सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले ‘जीटूजी’अन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ। यो वर्ष पनि पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने वेलामा डीएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए।

nisarga

‘किसानले खेती गर्ने वेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्’, उनले भने, ‘मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ।’ कार्यालय प्रमुख बोगटीले भैरहवा नाकामा एक हजार २०० मेट्रिक टन डिएपी मल आयात गरे मात्र सुदूरपश्चिम ल्याउने बताए। ‘पहिलो चरणमा एक हजार २०० मेट्रिक टन डीएपी मल सुदूरपश्चिममा वितरण भइसकेको छ’, उनले भने, ‘थप मल भैरहवा नाकामा आयात गरिए वितरण गर्न सकिन्थ्यो।’

कृषि सामग्री कम्पनी धनगढीसित हाल २५० मेट्रिक टन युरिया मौज्दात छ भने पोटास पनि सोही मात्रामा मौज्दात छ। कैलालीमा १८ हजार मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग छ। माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ। यही कारण किसान बर्सेनी मल अभावमै खेती गर्न बाध्य छन्।

किसान रूपराम चौधरीले किसानलाई आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषिकर्मप्रति निरुत्साहन गर्ने गरेको बताए। ‘खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो। हामी सधैँ अभाव झेलिरहन्छौँ’, उनले भने।

अर्का किसान रमेश रेग्मी स्थानीय सरकारले मलको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताउँछन्। ‘हरेक वर्ष खेती गर्ने समयमा मल अभाव झेल्छौँ’, उनले भने, ‘नेपाली बजारमा मल अभाव हुने, भारतबाट किनेर ल्याउँदा सीमामा दुःख दिइन्छ। खेती कसरी गर्ने?’

रासस