शुक्लाफाँटामा नयाँ प्रजातिको चरा

Image
maya metro

धनगढी- नेपालका लागि नयाँ प्रजातिको चरा सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा थपिएको छ । लानिडी पन्छी परिवारअन्तर्गतको नयाँ प्रजातिको भद्राई चरा थपिएको हो ।

यो चराको अङ्ग्रेजी नाम ‘लेसर ग्रे स्राइक’ रहेको छ । निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रमले सञ्चालन गरेको नियमित वन्यजन्तु अनुसन्धानको क्रममा यही वैशाख ३० गते (मे १३, २०२३ मा) लेसर ग्रे स्राइक चरा फेला परेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले जानकारी दिए ।

nisarga

शुक्लाफाँटा संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिक देवराज जोशीले उक्त चरालाई अभिलेख गरेको एनटीएनसीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । सो संस्थाका अनुसार निकुञ्जको उत्तरी भागमा रहेको कालापानी क्षेत्रको नदीतटमा नयाँ प्रजातिको भद्राई चरा पहिलो पटक देखिएको थियो । चरा अभिलेख गरिएको क्षेत्र समुन्द्र सतहबाट २१८ मिटरको उचाइमा रहेको छ ।

नेपालमा यसअघि छ प्रजातिका भद्राई चरा अभिलेख गरिएका छन् । नयाँ प्रजातिको भद्राई चरा फेला परेपछि थप पहिचानका लागि विवरणसहित नेपाल पक्षीविद् सङ्घअन्तर्गतको ‘रेअर वर्ड रेकर्ड कमिटी’ मा पठाइएको थियो । शरीरको आकारमा रहेको भिन्नता, निधार, र तालुमा विशेष कालो चिह्नहरू, कालो पखेटामा रहेको एकमात्र सेतो चिह्न आदिका आधारमा अरू भद्राईभन्दा यो फरक रहेको निर्क्योल निकालिएको थियो ।

फिल्डबाट लिइएको फोटोसहितको विवरण राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति प्राप्त पक्षीविद्को रायसहित शुक्लाफाँटामा फेला परेको भद्राई चरा नयाँ प्रजाति रहेको कमिटीले यकिन गरेको छ ।

लेसर ग्रे स्राइक लामो दूरीसम्म विचरण गर्ने फिरन्ते चरा रहेको एनटीएनसीले जनाएको छ । यो चरा साइबेरियादेखि मध्य एसिया हुँदै अफ्रिका महादेशसम्म विचरण गर्ने गरेको जनाइएको छ । यसअघि, सन २०२० मा भारतको पन्जाब प्रान्तको लुधियाना क्षेत्रमा यो प्रजाति अभिलेख गरिएको थियो ।

शुक्लाफाँटामा भेटिएको नयाँ प्रजातिको भद्राई आक्कलझुक्कल देखिने चरा रहेको पक्षीविद् हिरुलाल डङ्गौराको ठम्याइ छ । उनका अनुसार लामो दूरीसम्म विचरण गर्ने यो प्रजातिको चरा कहिलेकाहीँ बाटो बिर्सेर आउने गर्दछन् । भारत वा चीनतर्फबाट यो चरा शुक्लाफाँटामा आएको हुन सक्ने डङ्गौराले बताए ।

नयाँ प्रजातिको चरा अभिलेख भएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चरा प्रजातिको सङ्ख्या ४६० पुगेको छ । यसैगरी, नेपालमा पाइने चरा प्रजातिहरूको समग्र सङ्ख्या ८९२ पुगेको छ ।

गोरखापत्र