
अत्तरिया – कञ्चनपुरका वन्यजन्तु प्रभावित क्षेत्रमा मेन्था खेती गर्ने गरीएको छ । पुर्नवास–११ अमरवस्तीका वन्यजन्तु प्रभावित क्षेत्रमा मेन्था खेती गर्ने गरीएको हो । पुर्नवास–११ अमरवस्तीका विष्णु चौधरीले करिब दुई कठ्ठा जमीनमा मेन्था खेती गरेका छन् । तराई भू–परिधि कार्यक्रम (ताल)ले वन्यजन्तु प्रभावित क्षेत्रमा मेन्था खेती गर्नु उचित हुने बताएपछी उनी मेन्था खेती सुरु गरेका हुन् ।जडीबुटीका रुपमा प्रयोग हुने बारेमा थाहा नपाएका उनले आफ्नो ठाउँमा तालले नै प्रशोधन मेसिन सञ्चालनमा ल्याएपछि धेरै कुरा थाहा पाए । तालले अमरवस्तीमा रहेको अमर गोकुलसंग सामुदायिक वन संगको सहकार्यमा मेन्था प्रशोधन मेसिन सञ्चालनमा ल्याएको छ ।
आफ्नै घर–आँगनमा मेन्था प्रशोधन मेसिन सञ्चालनमा आएपछी अमरवस्तीका किसानले जडीबुटी खेती सुरु गरेका छन् । विष्णुले मेन्था खेतीबाटै घर खर्च चलाउनुकासाथै छोराछोरीलाई स्कुल पढाईरहेको बताए । उनले मेन्थाखेतीबाट अन्य बालीभन्दा चार गुणा बढी फाइदा हुने भएकाले आफूले पाँच वर्षदेखि मेन्था खेती गरिरहेको बताए । धान,गहुँ लगायतका बाली रोप्दा बदेँल,चित्तल लगायतका वन्यजन्तुले नोकसान गर्ने गरेको उनले बताए । कुनै पनी वन्यजन्तुहरुले नोक्सान नगर्ने भएकोले मेन्था खेती वन्यजन्तु प्रभावित क्षेत्रमा फाइदाजनक देखीएको हो ।औषधीका रुपमा प्रयोग हुने मेन्था लिटरको पाँच हजार सम्ममा बिक्री हुन्छ, यसबाट कम मिहिनेतमा बढी आम्दानी हुने किसानको अनुभव छ । फागुनमा रोपेको मेन्था जेठ–असारमा निकाल्न मिल्छ ।

किसान विष्णुका अनुसार मेन्था तोरी बाली पाकेपछि लगाउन सुरु गरिन्छ । मेन्था खेती गरेसकेपछि फेरि धान खेती पनि सहजै गर्न मिल्छ । मेन्थाबाट उत्पादन भएको तेल गाउँघरमै पनि खपत हुने गरेको उनको भनाइ छ ।अमरबस्तीकै अर्का किसान मानबहादुर चौधरीले पनि यस वर्ष तीन कठ्ठा जमिनमा मेन्था खेती गरेका छन् । एउटा सिजनको खेतीबाट ६० देखि ७० हजार आम्दानी हुने गरको उनले बताए । गत वर्ष तोरी खेती भित्र्रयाएपछी खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान मानबहादुरले यस वर्ष पनि खेती गरेका हुन् । ‘दुई बाली खेती भित्र्रयाएपछी खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो । यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ’, उनले भने ।कुनैपनी रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा बढी आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भईरहेको उनले बताए । ‘यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन,’ उनले भने, ‘मेन्था खेती गाईवस्तुले पनि नोक्सान गर्दैनन् । यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ ।’
मेन्था प्रतिकठ्ठा चार किलो उत्पादन गर्ने गरेको उनीहरु बताउँछन् । उत्पादन भएको तेल खरिद गर्न धनगढी, नेपालगञ्जबाट व्यापारी गाउँमै पुग्ने गरेका छन् । यो तेल विभीन्न किसीमका दुखाई आदीमा प्रयोग हुन्छ । थोरै जमिनमा पनि राम्रो आम्दानी हुने गरेकाले पछिल्लो समय गाउँमा जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको उनीहरुको भनाइ छ । जडीबुटी खेती गर्न गुणस्तरीय बीउबिजन सहजै उपलब्ध हुन नसकेको कृषकको गुनासो छ । बीउको व्यवस्था अमरगोकुल सामुदायिक वनले नै गर्दै आएको छ ।वनजंगल भएको र वन्यजन्तुले खाद्यान बालीमा क्षति पुर्याउने क्षेत्रकालागी मेन्था लगायतका जडुबुटीको खेती उपयुत्त हुने अनुभव किसानले गरेका छन् ।
















