
काठमाडौं – नेपालमा स्नातक तहलाई चारवर्षे बनाइएको एक दशक पनि पूरा नहुँदै यसको औचित्यमाथि प्रश्न उठेको छ । त्रिभुवन विश्वविद्यालय र अरू केही विश्वविद्यालयका प्राध्यापक तथा शिक्षकहरूले चारवर्षे स्नातकको समीक्षा आवश्यक रहेको अभिव्यक्ति सार्वजनिक गरेर छलफलको प्रारम्भ गरेका छन् ।
२०५२ सालसम्म दुई वर्षको रहेको स्नातक तहलाई २०५३ सालदेखि २०७१ सम्म तीन वर्षको बनाइएको थियो । तर विदेशका कतिपय विश्वविद्यालयमा चारवर्षे स्नातक तह रहेको र नेपाली विद्यार्थी ती विश्वविद्यालयमा पढ्न जाँदा स्नातकमै थप एक वर्ष पढ्नुपर्ने कारण देखाएर नेपालमा २०७२ सालदेखि चारवर्षे स्नातक कार्यक्रम सुरु भएको थियो ।

मुलुककै ठूलो त्रिभुवन विश्वविद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा संकायमा २०७२ साददेखि र मानविकी तथा सामाजिक शास्त्र संकायमा २०७६ देखि स्नातक कार्यक्रम चार वर्षको बनाइएको थियो । तर हिजोआज स्नातक तहमा भर्ना हुने विद्यार्थी घटिरहेको र भर्ना भएकाहरूले पनि बीचैमा पढाइ छाड्ने गरेको पाइएको प्राध्यापकहरू बताउँछन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकीका अनुसार स्नातक तह दुई वर्षको हुँदा भर्ना भएका अधिकांश विद्यार्थीले पढाइ पूरा गर्थे । तीन वर्षको बनाएपछि करिब २५ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाड्थे । अहिले चार वर्षको बनाएपछि अन्तिम परीक्षा दिने विद्यार्थी ३० देखि ३२ प्रतिशत बाँकी रहने गरेका छन् ।
चारवर्षे स्नातकको नतिजा आउँदासम्म ६ वर्ष लाग्ने, स्नातक उत्तीर्ण भइसक्दा पनि जागिरको ग्यारेन्टी नहुने जस्ता कारणले भर्ना हुने र ड्रप आउट हुने विद्यार्थी बढिरहेको उनको भनाइ छ ।


















