विदेशबाट फर्केर भैँसी पालन : मासिक २ लाख आम्दानी,८० हजार बचत

Image
maya metro

अत्तरिया – बिहान ४ बजे उठ्नु,गोठ सरसफाई गर्नु,भैँसीलाई खोले दिनु, भैसी दुहुनु र ७ नबज्दै दुध घरघरमा पठाउनु कैलालीका हिक्मत कडायतको दैनीकी हो । बिहानको झिसमिसेमै बाल्टी बोकेर दुध दुहुन भैसीको छेउमा पुग्ने कडायत दिँउसो ४ बजेतिर पनी भैँसीकै स्याहारमा व्यस्त देखीन्थे । कडायतकी श्रीमती र एक सहयोगी पनी भैँसी दुहुन लागेका थिए ।

बिहान उज्योलो नहुँदै भैँसी दुहुने उनीहरु दोस्रो छाक दिउँसो तीन देखी चार बजेसम्म भैसी दोहेर भ्याउँछन् । कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्बर ५ स्थीत गुलरीयामा दुई वर्ष देखी भैँसी पालन गर्दै आएका उनी माग अनुसारको दुध उत्पादन गर्न नसकिएको भन्दै बेला बेलामा थक्थकाईरहन्छन् । पैसा कमाउन विदेशीएका ३७ वर्षीय कडायत ८ वर्षको विदेश बसाईपछी स्वदेश फर्किएका थिए । फर्किएको करिब एक वर्षपछी १ विघा जग्गा भाडामा लिएर भैँसी पालन गरीरहेका उनले हिजोआज दैनिक ८५ लिटरसम्म दुध बेच्ने गरेका छन् ।

nisarga

विगतमा ११ ओटा भैँसी पालेर ११५ लिटर दुध दिनहुँ बिक्री गर्दै मासिक करिब ३ लाख आम्दानी गर्दै आएका उनले आर्थीक समस्याका कारण ३ ओटा भैँसी केहि महिना अघि बिक्री गरे । कडायतलाई साथीहरुले विदेश जाँउ नभनेका होईनन्,स्वास्थ्य सम्बन्धीको पढाई गरेका उनलाई काम गर्ने कम्पनीले पटकपटक बोलाएको पनी थियो तर आफ्नै देशमा केहि गरी हेरौँ भन्ने सोचेर कडायतले कृषी पेशा रोजे । केहि समय कुखुरा पानल गरेका उनले कुखुरामा लगानी सुरक्षीत देखेनन् ।

सुरुवातमा आफ्नो छोराको जन्मदिनको अवसर पारेर उनले दुईओटा भैसी किने । दुईओटा लैनो भैँसी भएपछी कडायतसंग दुधको माग गर्ने व्यत्तिहरु पनी बढ्न थाले । बजार राम्रो रहेछ भनेर उनले बिस्तारै भैँसी पालनलाई नै पेशा बनाउने निर्णय गरे । राम्रो फाइदा हुने देखेपछी एक महिनामै फेरी दुइैओटा भैसी थपेर चारओटा बनाए । दुधको बजार पनी त्यहि अनुसार बिस्तार गर्दै गए । ११ ओटा भैसी पाल्दै आएका कडायतसंग हाल ८ ओटा भैसी र तिनका पाडापाडी छन् ।

बिहान चारैबजेबाट फर्ममा खटीने उनलाई श्रीमतिले पनी पुर्णरुपमा साथ दिन्छीन् । फर्ममा कडायतले दुईजना सहयोगी राखेका छन् । एकजनाले भैँसी दुहुने र हेरचाह गर्ने लगायतका काममा सहयोग गछर्न भने एकजनाले दुध घरघरमा पुर्याउने काम गर्छन् । हेमा कृषी तथा पशुपन्छी नामको कृषी फर्मको नामबाट भैँसी पालन गर्दै आएका उनले हालसम्म करिब २३ लाख रुपैँया लगानी गरीसकेका छन् ।

फर्ममा थप लगानीको आवश्यकता छ,उनी भैँसी पालनलाई थप विस्तार गर्न पनी चाहन्छन् । तर त्यसकालागी आफुसंग लगानी नभएको उनले बताए ।

दुग्धजन्य वस्तुको बजार अभाव छैन
दुध तथा दुग्धजन्य बस्तुकाकालागी बजार अभाव नभएको कडायतको अनुभव छ । मैले डेरीमा त दुध बेच्ने गरेकै छैन,घर घरमा मात्रै बेच्ने गरेको छु कडायतले भने बच्चा भएका घरमा मेरो फर्मको दुधको माग बढी छ । आफुले धेरै पानी नहालीकन दुध बिक्री गर्ने गरेका कारण घरमा धेरै बेचिने गरेको उनको भनाई छ । दुध बिक्रिकालागी बजार प्रशस्त रहेको उनी बताँउछन् ।

कडायतले अहिले मुख्य रुपमा अत्तरिया बजार वरीपरीका घरमा मात्रै दुध बिक्री गर्ने गरेका छन् । भैँसीको संख्या बढाएर दुध उत्पादन बढाउन सके धनगढीसम्म दुध पुर्याउने लक्ष्य उनको छ । तर आफुसंग भएको सबै लगानी सकिएका कारण त्यो सम्भव नभएको कडायत बताँउछन् ।

‘कतिपय किसान साथीहरुले दुधको बजार पाईएन भनेर गुनासो गर्नुहुन्छ तर मैले त पुर्याउनै सकिरहेको छैन उनले भने दुधमा गुणस्तर कायम गर्नसक्यो भने बिक्रीको लागी बजार प्रयाप्त छ ।’ दुध फाटेमा,दहि नजमेमा पैसा नै नलिने गरी ग्राहकलाई ग्यारेन्टी दिने गरेको उनले बताए ।
१ विघा जमिनमा घाँस खेती
हाल ६४ परिवारलाई ८५ लिटर दुध दैनीकरुपमा बिक्रि गर्दै आएका उनले अहिले वर्षाको समयमा करिब एक विघा जमिनमा घाँस खेती गरेका छन् । हिँउदको समयमा डेढ कठ्ठामा घाँस खेती गर्ने गरेको उनले बताए । कडायतले यो समयमा चरी घाँस,चिलो र पराल मिलाएर मेसिनबाट काटेर भैँसीलाई खुवाउछन् ।

उनले घाँस काट्ने मेसिन प्रदेश सरकारबाट आधा अनुदानमा पाएका हुन् । घाँसको बिउकालागी सम्बन्धीत निकायमा पटकपटक आग्रह गर्दा पनी नपाईएको उनले गुनासो गरे । केहि सिप नलागेपछी नेपालगंजबाट महंगोमा घाँसको बिउ ल्याएर भैँसीलाई आहार व्यवस्थापन गरेको उनले बताए ।
मासिक २ लाख कारोबार,८० हजार बचत
८ ओटा भैसीबाट मासिक करिब २ लाखको कारोबार गर्दै आएका कडायत मासिक ८० हजार रुपैँया शुद्ध बचत हुने गरेको बताँउछन् । ११ भैँसी पाल्दा दैनीक ११५ लिटरसम्म दुध बेच्ने गरेका उनले केहि समय यता ८ ओटा भैसी मात्रै राखेका छन् । ११ भैँसी दुहुनो हुँदा दैनीक ११५ लिटरसम्म दुध बिक्री गर्ने गरेको उनले सुनाए ।

अचेल कडायतसंग ८ ओटा दुहुनो भैँसी छन् । ८० देखी ८५ लिटर दुध दैनीक रुपमा ८५ रुपैँया प्रति लिटरका हिसाबले बेच्दै आएका उनी भैसीको दाना,दुई जना सहयोगीको खर्च लगायतका सबै खर्च कटाएर हुने करिब ८० हजार चोखो आम्दानी गरीरहेका छन् । विदेशमा जसरी खटीने हो भने प्रशस्त आम्दानी गर्न सकिने कडायतको बुझाई छ ।
विदेशभन्दा यतै राम्रो
कडायत स्वास्थ्य सम्बन्धीको अध्ययनपछी सोहि क्षेत्रमा काम गर्न विदेश गएका थिए । उनको कमाई पनी राम्रै थियो । परिवारबाट कोषौ टाढा बसेर महिनामै दुई लाख कमाएको भन्दा परिवारसंगै बसेर कमाएको ८० हजार नै कडायतलाई धेरै लाग्छ । कमाइ त राम्रो थियो,घण्टौँ ड्युटी गर्नुर्पथ्यो तर परिवारबाट टाढा हुँदा उनलाई सधैँ आफुसंग केहि नभएको महसुस हुन्थ्यो ।

‘अहिले घर परिवारसंग बसेर मिठो मसिनो खान पाएको छु,दुख सुखमा साथ दिन पाएको छु उनले भने, तड्पिएर कमाएको त्यो पैसाले मात्रै के गर्नु?अहिले आफ्नो खुसीले काम गर्न पाईएको छ । उता भन्दा यतै राम्रो ।’
वास्तविक किसानलाई छैन अनुदान
भैँसी पालनलाई थप विस्तार र व्यवस्थीत गर्ने योजना सहित कडायत हरेक वर्ष फर्मका कागजात बोकेर मन्त्रालय लगायत सम्बन्धीत ठाँउमा धाँउछन् । तर कहिल्यै सकरात्मक नतिजा पाँउदैनन् । वास्तवीक किसानलाई अनुदान नपाईने रहेछ भन्ने भेउ पाईसकेका उनी कुनैबेला फार्म नै बन्द गरौँ कि लाग्ने गरेको बताँउछन् ।

‘कागजी प्रकिया पुरा गरेर फाइल तयार गर्ने किसानले कर्मचारीलाई कमिसन दिएको भरमा अनुदान पाँउदा रैछन्,उनले भने हामीजस्ता यसै क्षेत्रमा केहि गरौँ भन्नेलाई कसैले नहेर्दा रहेछन्,सरकारी उदाशिनता र बेथिति देखेर फर्म नै बन्द गरेर फेरी विदेश तिरै जाँउ कि जस्तो लाग्छ । ’ ‘मलाई पैसा नदेउ भैँसी देउ म मेरो व्यवशाय विस्तार गर्छु र पैसा ति भैँसी बराबरको रकम सरकारलाई नै फिर्ता गर्छु भनेर आफुले सम्बन्धीत निकायमा आग्रह गरे कसैले सुनेनन् कडायतले भने अनुदान पाउनकालगाी अग्रीम कमिसन बुझाउनु पर्दो रहेछ, जुन म गर्दीन । ’

भैँसी नै नभएका किसानले अनुदान पाईरहेका बेला आफुले व्यवशायिक रुपमा पालन गर्दा समेत कर्मचारीको कमिसनको खेलका कारण अनुदान नपाँउदा साह्रै चित्त दुखेको उनले बताए । सरकारबाट अनुदान पाए आगामी दिनमा कैलालीको गेटामा अर्को भैँसी फर्म सञ्चालन गरी धनगढीमा दुध तथा घिउ पठाउने आफ्नो योजना रहेको कडायतले बताए ।

फर्मको अनुगमन गरेर वास्तविक किसानले अनुदान पाउनुपर्ने उनको भनाई छ । पछील्लो समय अधिकांश नेपाली युवाहरु विदेश जानका लागि मरिहत्ते गर्छन् । विदेश जानका लागि भएको घरजग्गा धितो राखेर ऋण लिएका हुन्छन् । गाउँमै रहेका आयआर्जनका सम्भावनाहरुलाई लत्याएर विदेशमा रातदिन नभनी काम गर्न तयार हुन्छन् ।

देशमा भविष्य नदेखेर रोजगारीकै लागी विदेश जाने युवाहरुको दिनहुँजसो विमानस्थलमा लाइन देख्न सकिन्छ तर कडायत भने राम्रो आम्दानी र सजीलो काम भएको कतारको कम्पनी छोडेर आफ्नै ठाँउमा इलम गरीरहेका छन् ।

केहि गर्न चाहने युवाहरुलाई स्वदेशमै रोक्नकालागी सरकारको भुमीका भने महत्वपुर्ण रहने कडायतले बताए । ‘देशको निति र व्यवस्था नै त्यस्तो छ यहाँ केहि गरौँ भन्नेलाई कुनै पनी निकायले सहयोग नगर्दो रहेछ उनले भने देशको त्यहि निति देखेर हजारौँ युवाहरु विदेशीरहेका छन् ।’