अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । शुक्रबार नगरपालिकाको कृषि
विकास शाखाले एक कार्यक्रमको आयोजना गरी नगर भित्रका कृषक समुहरुलाई कृषि औजारहरु पावर टिलर र मिनि पावर टिलर वितरण गरेको हो । उत्त औजारहरु नगरप्रमुख हेमराज ओझाले समुहहरुलाई हस्तान्तरण गरेका छन् । गत आर्थिक बर्षको कार्यक्रममा ६९ वटा पावर टिलर र ४६ वटा मिनी पावर टिलर वितरण गर्ने कार्यक्रम अन्तरगत कृषक समुहहरुलाई ५१ वटा पावर टिलर र २३ ओटा मिनी पावर टिलर वितरण गरीएको हो ।
कृष्णपुर नगरपालिकाको कृषि शाखा प्रमुख लाल बहादुर धामीले उक्त पावर टिलर र मिनी पावर टिलर गत आर्थिक बर्षको कार्यक्रम अन्तरगत वितरण गरिएको बताए । धामीले कृषिमा आधारित भई नगरमा दर्ता भएका संस्था, समूह र फर्महरुलाई कृषि औजार वितरण गरीएको बताए । उनले नगरमा रहेका कृषक समुह, फर्म र कृषि सहकारीहरूलाई मात्र वितरण गरेको बताए । किसानहरूको लागत घटाई उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उक्त कृषि औजार वितरण गरिएको धामीले बताए ।
उनले ८ वटा सहकारी, ३९ वटा कृषक समुह र १८ वटा कृषि फर्मलाई गरी ७४ वटा कृषि औजार वितरण गरेको जानकारी दिए । ‘सामुदायिक वन संगको साझेदारीमा १८ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरिसकिएको छ’ उनले भने ‘जसमा सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लगानी साझेदारी रहेको थियो ।’ उनले पावर टिलर १ लाख ७४ हजार ५ सय र मिनी पावर टिलर ५३ हजार ५ सयमा नगरपालिकालाई ठेकेदारले उपलब्ध गराएको बताए ।
आफुहरुले व्यत्तिलाई नदिई फर्म र संस्थाहरुलाई प्राथमिकतामा राखेको उनले बताए । वितरण गरिएका पावर टिलरबाट पानी तान्ने, ढुवानी गर्ने, जोत्ने, धान काट्ने गहुँ काट्ने काम गर्न सकिने बताईएको छ । औजारहरुको सदुपयोग गरी कृषि उत्पादन बढाउन आग्रह गर्दै उनले कृषि औजारहरुको दुरुपयोग गरेमा वडा तथा नगरबाट प्रदान गरिने सबैखाले सेवासुविधाहरुबाट बञ्चित गरिने उनले बताए । कार्यक्रममा बोल्दै नगरप्रमुख हेमराज ओझाले गत बर्ष नै पावर टिलर र मिनी पावर टिलर वितरण गर्ने योजना भएपनि ठेकेदारले उपलब्ध गराउन नसकेपछि वितरणमा ढिलाई भएको बताए ।
उनले नगरबाट २ वर्षसम्म कुनैपनि सेवासुविधा नपाएका व्यत्तिहरुलाई प्राथमिकतामा राखीएको बताए । औजारहरु ५ वर्षसम्म बिक्रि वितरण गर्न गरेमा नगर र वडषबाट दिईने सम्पुर्ण सेवा सुविधा रोकिने भन्दै ओझाले वितरण गरिएका पावर टिलर र मिनी पावर टिलरको सही सदुपयोग गर्न किसानहरुलाई आग्रह गरे । लालीगुँरास महिला कृषि समुहकी सचिव पशुपति चौधरीले पावर टिलर पाउँदा आफूहरू निकै खुसी भएको बताइन् । उनले यसको सही सदुपयोग गर्ने प्रतिवद्धता गरिन । कामना हलिया मुक्ति शिविरका शिव नेपालीले कृषि औजारहरुले आफुहरुलाई ठुलो राहत हुने भन्दै खुसी व्यत्त गरे ।