लामो समयसम्म पानी नपर्दा दार्चुलामा हिउँदे बाली सुक्दै

Image
maya metro

दार्चुला – हिउँदे वर्षा नभएपछि दार्चुलामा यस वर्ष हिउँदे बाली सुक्न थालेको छ। असोज पहिलो सातादेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो। खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि कृषक चिन्तित भएका छन्।

लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जौँ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताए।

nisarga

आकासे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो अधिकांश बाली सुक्न थालेका छन्। जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चन्द्रबहादुर ठगुन्नाले बताए।

सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बाली सुक्न थालेको उनको भनाइ छ। सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदे बाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको शैल्यशिखर–७ का अर्का किसान मनिराज जोशीले जानकारी दिए। जिल्लाका अन्य क्षेत्रमा बाली सुक्न थालेको किसानले बताएका छन्।

कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ। खेतीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्। गतवर्ष दार्चुलामा १४ हजार १३ मेट्रिकटन गहुँ उत्पादन भएकामा यस वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ।

रासस