सुदूरपश्चिम : प्रदेशसभाका ४ समितिका सभापतिले लिए शपथ

Image

धनगढी – सुदूरपश्चिम प्रदेशसभाका ४ समितिका सभापति बुधवार निर्विरोध रूपमा निर्वाचित भएका छन्। उनीहरु चारैजनाले पदको शपथग्रहणसमेत गरेका छन्।
प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमबीच चारैजना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

निर्विरोध निर्वाचित हुनुहुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा माया पन्त रहेका छन्।

निर्वाचित सभापतिमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा एमाले, चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य हुन्।

उनीहरूले मंगलवार सभापतिमा मनोनयन गरेका थिए। नेकपा माओवादी केन्द्रले भने प्रदेशसभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको बताइएको छ।