अत्तरिया – अत्तरिया कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले पुष २६ गतेदेखी माघ ७ गतेसम्म सञ्चालन भएको महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका चारैजना रिहा भएका छन् ।
संघका महासचिव शंकर खड्का,सचिव दिपीन कुमार साउँद,सदस्य बम बहादुर बोगटी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा २० दिनपछी आज छुटेका हुन् । उनीहरुलाई बोलाएको बेला उपस्थीत हुनेगरी रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताएका छन् ।
“सरकारी वकिलको कार्यालयबाट चारैजनालाई आफन्तको जिम्मा लगाउनु,थप अनुसन्धान जारी राख्नु भन्ने आदेश भएपछी उहाँहरुलाई रिहा गरेका छौँ,” चन्दले सुदूर टाईम्ससंग भने । उनीहरु विरुद्ध संघका अध्यक्ष सहितले किटानी जाहेरी दिएपछी उनीहरु स्वएच्छिक जिल्ला प्रहरी कार्यालयमा उपस्थीत भएका थिए ।
सोहि प्रकरणमा पक्राउ पुर्जी जारी भएका संघका अध्यक्ष कल्याणसिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटा भने अझै प्रहरीको सम्पर्कमा नआएको चन्दले बताएका छन् । गत माघ २६ गते जिल्ला प्रहरी कार्यालय कैलालीले संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटाको नाममा कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जनाएको थियो ।
अरुका नाममा किटानी जाहेरी दिने अध्यक्ष नै आफ्नो नाममा पक्राउ पुर्जी जारी भएपछी सम्पर्कबिहिन हुँदा व्यवसायी लगायत विभीन्न स्तरबाट टीकाटिप्पणी आउन थालेका छन् ।
अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो ।