बुढीगंगा नदीमा एक महिलाको शव फेला

Image

अत्तरिया – बाजुरा त्रिवेणी नगरपालिका बुढीगंगा नदीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको सोहि पालिकाको वडा नम्बर २ की अन्दाजी ३९ बर्षीय जानकी न्यौपाने शव फेला परेको हो ।

शनिबार विहान मृतक न्यौपानेका शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । नजिकै ढुंगामा चप्पल र उहाँको प्रयाग गर्दै आएको मोबाइल समेत भएको हुनाले हाम फालेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृतक महिलाको गाउँ सिम्ला बाट बुढीगंगा नदीमा हिडेर पुग्न करिव चार घण्टा लाग्छ । मृतक महिलाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी निरीक्षक भण्डारीको भनाई रहेको छ । आफन्तहरु जिल्ला आईनपुगेका हुँदा पोष्टमार्टम हुन सकेको छैन् ।

आफन्तले दिएको जानकारी अनुसार शुक्रबार मृतक महिलाको घरमा छोराको विवाह पार्टी रहेको थियो । शुक्रबार उनी नारी दिवस कार्यक्रममा समेत सहभागि भएको जनाएको छ । मृतक महिला सिम्लामा रहेको पार्वती माध्यमिक विद्यालयकी कर्मचारी समेत रहेकी थिईन् ।