
काठमाडौँ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालसँग अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको छ । क्यारेबियन टोली बुधबार नेपाल आएको हो ।
वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ टोलीका खेलाडीको लगेज (सामना) बोक्न पठाएको सवारी साधनको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । क्यानले क्यारेबियन टोलीका खेलाडीको लगेज ओसार्न बलेरो जिप विमानस्थलमा पठाएको थियो ।
सोही विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न नकारात्मक टिप्पणी सुरु भएको हो । क्यानका सदस्य छुम्बी लामा वेस्ट इन्डिजका खेलाडीको लगेज बोक्नका लागि मात्र त्यो भ्यानको प्रयोग गरिएको बताउँछन् ।
‘हामीले विमानस्थलबाट वेस्ट इन्डिजका खेलाडी ओसार्नका लागि मापदण्ड अनुसारको पर्यटक बस नै पठाएको हौँ । खेलाडीको लगेजका लागि मात्र त्यो त्यो भ्यान प्रयोग गरिएको हो । अरू देशमा पनि खेलाडी बोक्न र सामान बोक्न छुट्टाछुट्टै सवारी साधनको प्रयोग गर्ने परम्परा छ,’ उनले भने ।
छुम्बीले वेस्ट इन्डिजका खेलाडीलाई विमानस्थलबाट सोल्टी होटल लगिएको बताए ।
नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ तारिखमा खेलिने भएको छ । दोस्रो खेल अप्रिल २८ तारिखमा र तेस्रो खेल मे १ तारिखमा खेलिने छ । नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ तारिखमा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने मे ४ तारिखमा खेलिने छ ।















