पाइनै छोड्यो राडीपाखी

Image

बाजुरा – सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा ठूलो मात्रामा पाइने भेडाको ऊनबाट बन्ने राडी, पाखी, लिउँ, कम्मल, कोट, इस्टकोट, स्वेटर र बाख्राको ऊनबाट बन्ने फे¥या पाइन छोडेको छ । भेडा पालन घट्नु र बाख्रा पालन गर्नेले आधुनिक रौँ नहुने जातका बाख्रा पालन गर्नाले ऊनी कपडा उत्पादन ओरालो लागेको हो । घरमा सुत्ने बेला ओढ्ने राडी काम्लो बिछ्याउने दन, लिउ फे¥या, लगाउने कोट, इस्टकोटहरू अहिले गाउँमा पाइँदैन । बाहिरबाट आएका पाहुना आउँदा बस्ने कपडा र जाँदा चिनोका लागि दिने कपडा अहिले हराएको छ ।

‘काम्लो छैन कुम्ला ओढ्नलाई वर्षादी देउप, वर्ष आयो आति रुज्यो त्याईभित्र छप्काई लेउप ।’ (मैले काम्लो बोकेको छैन, पानीले भिजियो, तपाईंको प्लास्टिकभित्र ओत लाग्न दिनुस् न) । यी माथिका भनाइ सदरमुकाम मार्तडी आउने बाटोमा एउटा बटुवाले पानीले निथ्रुक्क भिजेपछि आफ्नो आग्रह प्लास्टिक ओढेर ओत लागेको अर्को मित्रलाई पोखेका हुन् । हिमाली गाउँपालिका– १, गुम्बाका बलसिंह कुँवरले पानी पर्दा ओढ्ने ऊनी कपडाको काम्लो (ऊनको कम्बल) आफूले नबोकेर भिजेको र आफूलाई प्लास्टिक ओढ्न दिन अनुरोध गरेका हुन् ।

कुँवरले भने, ‘घरमा छाता र वर्षादी भेटिएन, भेडाको ऊनको काम्लो पनि पुरानो थियो । पानी पर्दैन कि भनेर हिँडेको यहाँ त पानीले भिजायो । बाटोमा हुम्लाको ताँजाका एक जना भेटिए । उनले ओढेको वर्षादीले सामान भिज्नबाट जोगाइयो । हामी पहिले गाउँमा जाडो हुँदा र पानी पर्दा, भेडाको ऊनको कम्बलको खोचो बनाएर ओढ्ने गरेका थियौँ । अहिले त्यो पाउन गाह्रो छ ।’ हिमाली गाउँपालिका–६ का नन्दबहादुर भण्डारीले भने, ‘गाउँमा भेडाबाख्रा पाल्न छोडे, गाउँमा कसैकसैका घरमा मात्र बख्राल (बाख्राको ऊन), पाट्नी उनन (भेडाको ऊन) का कपडा बुन्छन् । अहिले बजारका काम्मा र ओढ्ने किनेर प्रयोग गर्छन् ।

अब कहाँ पाउनु काम्ला, राडी र फे¥या । हामीले सम्झँदा गाउँमा सबैका घरमा तान लगाएर हिउँदभरि राडी फे¥या बुन्थे । अहिले त्यस्तो छैन ।’ भण्डारीले थपे, ‘ऊनका कपडा पथि (स्वास्थ्यलाई लाभदायक) हुन्थे, अब बजारका सामान आउन लागे । महिना दिन लगाएर बुनेका कपडा कहाँ पाउनु । सबै अल्छी भए आफ्नो चीज केही पाइँदैनन् । खानेदेखि हड ढाक्ने टाला सबै बाहिरकै आउँछन् ।’ स्वामीकार्तिक खापर गाउँपालिका–५ का वीरेन्द्र शाहीले भने, ‘केही वर्षअगाडि गाउँमा दुई÷तीन हजार भेडाबाख्रा पाल्ने गरेका थिए । अहिले मुस्किलले गाउँमा चार÷पाँच सय भेडाबाख्रा छन् । एकै घरबाट पन्ध्र÷बीस राडी फेरुवा, काम्ला र लिउँ निस्कन्थे तर अहिले मुस्किलले गाउँभरि खोज्यो भने त्यति निकाल्न सकिन्छ ।’ शाहीले भने, ‘भेडाबाख्रा घटेपछि ऊन घट्यो । ऊन घटेपछि त्यसका कपडा कहाँबाट पाइनु ? औषधि गर्नलाई पनि ऊन पाइदैन आजभोलि । हामी पुराना ऊनी कपडा लाउनेलाई त बजारका कपडा लाएजस्तै लाग्दैन ।’

सामुदायिक बिउ बैंक, खाद्य उपभोक्ता कृषि सहकारी संस्थाका अध्यक्ष टेकेन्द्र सिंहले भने, ‘हामीले बाजुराबाट मार्सी धानको चामल, यहाँको चिनो कागुनो, सिमी बजारसम्म पु¥याउने गरेका छौँ । हाम्रा उपभोक्ताले पनि ऊनका कपडाहरूको खोजी गर्छन् । तर के गर्नु, पहिलेजसरी पाउनै मुस्किल छ । ऊनको कपडाको बजारमा माग धेरै छ । यहाँ उत्पादन ओरालो लागेको अवस्थामा छ ।’ हुम्ला ताँजाकोट गाउँपालिकाकी– ३, की मनसार रोकायाले भनिन्, ‘हामीले जाडोमा ओढ्ने भेडाको ऊनबाट बनेको काम्लो पाइन छोडेको छ । गाउँमा कसैकसैले मात्र ओढ्ने गरेका छन् । गाउँमा बाहिरबाट आएका सलहरू नै ओड्छन् । चिसो महिनामा धेरै तातो हुने काम्लोको खोचोले पानी पनि छेक्ने र चिसो पनि कम हुन्थ्यो ।’