
अत्तरिया – बाल्यकालमा धेरैजसो अभिभावकले आफ्ना छोराछोरीलाई भित्तामा चित्र नकोर्न सम्झाउँछन् । तर, कसैका लागि त्यही बानी भविष्यको पहिचान बन्न सक्छ । सानैदेखि हातमा पेन्सिल परेपछि कापीभन्दा बढी घरका भित्तामा चित्र कोर्ने बानी भएकी धनगढी-५ की सुधा कुँवर अब ट्याटु आर्टिस्ट बनेकी छिन् ।
“बच्चा बेलामा यसो भित्तामा केहि देख्दा पनि अरुले त किरा फट्याङ्ग्रा देख्छन् नी म त कुनै आार्टहरु खोज्थे । सुधा सम्झिन्छिन् ।” बाल्यकालमा सुधा उनले देखेका फूल, चराचुरुङ्गी, मान्छेका अनुहार वा प्रकृतिका दृश्यहरू भित्तामा उतार्थिन् । आफ्नो रुचिमा परिवारले पनि कहिले रोकतोक नगरेको सुधाको अनुभव छ ।

विद्यालयमा पनि ड्रोइङ नै उनको रुचिको विषय थियो । साथीहरु, शिक्षकहरुको जन्मदिनमा चित्र बनाएर गिफ्ट गर्ने गर्थिन उनी । समयसँगै उनले आफ्नो यही रुचिलाई व्यवसायमा रूपान्तरण गरिन् । दुई वर्षदेखि उनले धनगढीको शिवनगरमा आफ्नै ब्युटीपार्लर सञ्चालन गर्दै आएकी छन् ।
उनको ब्युटीपार्लरको मुख्य आकर्षण नयाँ, आकर्षक र उत्कृष्ट डिजाइनका मेहन्दी हुन् । आफ्नो चित्रकलाको सीपलाई मेहन्दी कलामार्फत उजागर गरेकी सुधाले अहिले त्यसमा ट्याटु कलाको सीप पनि थपेकी छन् । मुक्त कमैया महिला विकास मञ्चको सहयोगमा उनले ट्याटु खोप्ने तालिम सिकेकी हुन् ।
मुक्त कमैया महिला विकास मञ्चले कैलालीको गोदावरी नगरपालिकामा गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजना अन्तरगत महिलाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको छ ।
ट्याटु खोप्ने व्यवसायमा पैसा कमाइ पनि राम्रो हुने सुधाको बुझाइ छ । धनगढीमा ट्याटु सिकाउने केन्द्र खोजेको जस्तो राम्रो नपाएपछि दिनहुँ धनगढीबाटै आउजाउ गरेर सिकेको उनले बताइन् ।
यहाँ संस्थासंग र ट्याटु सेन्टरसंग फाइनल कुरा गरेको दिन आफूलाई निकै हर्ष लागेको उनले बताइन् । “धनगढीमा एकदुई वर्षदेखि नै मैले खोजीरहेको थिए तर कहिँ सिकाउने सामग्रीहरु गुणस्तरीय थिएनन् भने कुनै ठाउँमा पैसा धेरै नै महंगो थियो, उनले भनिन्, जब मैले अत्तरियामै भए पनि सिक्ने ठाउँ पाए त्यो दिन म धेरै नै खुसी भएकी थिए ।”
अत्तरियाको बुद्धजयन्ती ट्याटु सेन्टरमा तीन महिना ट्याटु खोप्ने तालिम सिकेका सुधासहितका पाँच जनाले प्रमाणपत्र समेत पाइसकेका छन् । अब आफू ट्याटु आर्टिस्ट बनेकोमा निकै खुसी लागेको उनले बताइन् । “आफ्नो रुचि अनुसारकै व्यवसाय गर्न पाएको छु, अब पार्लरमै ट्याटु खोप्ने सेवा पनि थप गर्ने योजनामा छु, उनले भनिन् ।”
ट्याटु आर्टमा आफूलाई निर्खान तीन महिनाको सिकाइ पर्याप्त नभएको उनको बुझाई छ । पसलको समय व्यवस्थापन गरेर थप सिक्न काठमाडौं वा भारत जाने उनले बताइन् । ट्याटुप्रतिको नेपाली समाजको दृष्टिकोण पहिलेको तुलनामा विस्तारै सकारात्मक बन्दै गएको सुधाको अनुभव छ ।
विगतमा ट्याटु खोप्नेलाई फरक दृष्टिले हेरिने भए पनि अहिले यसलाई कला, सौन्दर्य र व्यक्तिगत अभिव्यक्तिको माध्यमका रूपमा स्वीकार्नेहरूको संख्या बढ्दै गएको उनी बताउँछिन् । यद्यपि, ट्याटु कलाकारका रूपमा महिलालाई हेर्ने समाजको दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन भइ नसकेको उनले बताइन् ।
महिलाले यस्तो पेशा रोज्दा अनौठो मान्ने सोच अझै कतिपय ठाउँमा कायम रहेकाले त्यसमा परिवर्तन आउन आवश्यक रहेको उनको भनाइ छ । पेशा र व्यवसायको कुनै जात, धर्म वा लिंग नहुने भन्दै सुधा प्रत्येक महिलालाई आफ्ना रुचि, क्षमता र सपनाअनुसार निर्धक्क भएर पेशा तथा व्यवसाय रोज्न आग्रह गर्छिन् ।















