गोदावरीमा एक वर्षमा जम्मा डेढ किलोमिटर सडक कालोपत्रे

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले एक वर्षको अवधिमा जम्मा डेढ किलोमिटर सडक कालोपत्रे गरेको छ। नगरपालिकाले आर्थीक वर्ष २०८०/८१ मा नगरभर डेढ किलोमिटर सडक कालोपत्रे गरिएको जनाएको हो।

आज आगामी आर्थीक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले यसैलाई चालु आर्थिक वर्षको भौतिक प्रगति भन्दै उल्लेख गरेकी छिन।

nisarga

चालु आर्थीक वर्षमा १३ किलोमिटर सडक कालोपत्रेको लागि ठेक्का आह्वान भएकोमा डेढ किलोमिटर सडक कालोपत्रे भएको भौतिक प्रगतिको विवरणमा उल्लेख गरिएको छ।

यो संगै हालसम्म ६ वर्षको अवधीमा गोदावरी नगरपालिकामा हरेक मौसममा सञ्चालनमा आउने गरी सबै वडा लगायतको जम्मा करिब ३९ किलोमिटर सडक कालोपत्रे भएको छ ।

यस्तै सोही अवधिमा नगरपालिकाले असार ५ गतेसम्म नगरभर २३ किलोमिटर सडकमा ग्राभेल गरेको जनाएको छ। त्यस्तै खुटिया नदीमा कटान नियन्त्रणका लागि तारजाली लगाइएको छ भने वडा नम्बर ९ स्थीत सेहरीमा तीन करोडको लागतमा नदी नियन्त्रणका लागि तार जाली लगाइएको छ ।

नगरमा साना ठुला गरि ८ ओटा कल्भर्ट निर्माण सम्पन्न भएको बताईएको छ । त्यस्तै वडा नम्बर ४ को प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने नदीजन्य पर्दाथबाट ६ करोड रुपैँया राजश्व संकलन भएको बताईएको छ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालनमा आएको फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगति ७० प्रतिशत भएको नगरपालिकाको भनाई छ । त्यस्तै गोदावरी नगरपालिकाको आगामि ५ वर्षको लागि प्रथम आवधिक योजना तयार भई सञ्चालनमा आएको बताईएको छ ।