मनसुन अवधिमा सुदूरका सडकमा ४६ करोडको क्षति

Image
maya metro

अत्तरिया – यो वर्षको मनसुन अवधिमा सुदूरपश्चिमका सडकमा ४६ करोड २५ लाखको क्षति भएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा सडक डिभिजन कार्यालयका ४ ओटा शाखा रहेका छन् । कैलाली र कञ्चनपुर सडक डिभिजन कार्यालय महेन्द्रनगरले हेर्दै आएको छ । त्यसैगरी बैतडी,बझाङ र दार्चुला सडक डिभिजन बैतडको कार्यक्षेत्र हो भने डोटी र डडेल्धुरा सडक डिभिजन कार्यालय कुलपाते डोटीको कार्यक्षेत्र हो ।

त्यसैगरी अछाम र बाजुरा सडक डिभिजन कार्यालय अछामले हेर्दै आएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यक्षेत्रमा २२ करोडको क्षति भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश कुमार यादवले बताएका छन् । मनसुन अवधिमा कैलालीमा १४ करोड र कञ्चनपुरका सडकमा ८ करोडको सडक क्षति भएको उनले बताए ।

nisarga

त्यस्तै सडक डिभिजन कार्यालय डोटीका प्रमुख रमेश भट्राईका अनुसार सडक डिभिजन कार्यालय डोटीको कार्यक्षेत्रमा १३ करोडको क्षति भएको छ । सडक डिभिजन कार्यालय अछामको कार्यक्षेत्रमा करिब ४ करोड बराबरको क्षति भएको सडक डिभिजन कार्यालय अछामका सब इन्जिनियर भुवन जोशीले बताएका छन् । त्यस्तै सडक डिभिजन कार्यालय बैतडीको कार्यक्षेत्रमा ७ करोड २५ लाख बराबरको क्षति भएको बैतडीका इन्जिनियर एवम् सूचना अधिकारी लिलाधर भट्टले बताएका छन् ।

क्षति भएको सडक मर्मतका लागि मन्त्रालयका पठाइएको भएपनि बजेट व्यवस्थापन अहिलेसम्म नभएको कार्यालयहरुले बताएका छन् । नेपालमा यसवर्ष जेठ २८ मा भित्रिएको मनसुन असोज २६ गते बाहिरिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ ।