हिरापुर फाँटमा कृष्णसारको सङ्ख्यामा बढोत्तरी

Image
maya metro

धनगढी – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा संरक्षित वन्यजन्तु कृष्णसारको बढोत्तरी भएको छ । कृष्णसारको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यका साथ हिरापुरमा ५८.८ हेक्टर फाँटलाई तारबार गरेर कृष्णसारको बासस्थान क्षेत्र बनाइएको छ । त्यसमा कृष्णसारको सङ्ख्या बढेर २९५ पुगेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

“निकुञ्जको हिरापुरमा झन्डै तीन सयको हाराहारीमा कृष्णसार पुगेका थिए,” उनले भने, “तर भदौ, असोजमा गरेर १२ वटा मरे ।” मनसुन सकिने बेला हरेक वर्ष अलि बढी नै कृष्णसार मर्ने गरेको जनाइएको छ । मरेका कृष्णसारको ल्याब परीक्षण गर्दा कुनै पनि रोग पुष्टि नभएको सहायक संरक्षण अधिकृत ऐरले बताए । “बढी जसो वृद्ध भाले कृष्णसार मरे,” उनले भने, “ल्याब जाँच गर्दा कुनै पनि रोग पुष्टि नभएकाले प्राकृतिक कारणले नै मरेका हुन् ।”

nisarga

१२ वर्षअगाडि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सर्वप्रथम ४२ वटा कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो । त्यसको तुलनामा अहिले शुक्लाफाँटामा सात गुणाले कृष्णसार बढेका छन् । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगञ्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरी सङ्ख्या ४२ पु¥याइएको थियो ।

१९६० को दशकमा शुक्लाफाँटाको हिरापुर क्षेत्रमा कृष्णसार देखा परेको स्थानीयका भनाइलाई आधार मानेर यहाँ कृष्णसार बाँच्न सक्ने भन्दै विभिन्न ठाउँबाट कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो । स्थानान्तरण गरिएको छोटो समयमा यहाँ कृष्णसारको सङ्ख्या उत्साहजनक रूपले बढेको ऐरले बताउनुभयो । निकुञ्जमा सुरुमा ७.५ हेक्टर क्षेत्रमा कृष्णसारको वासस्थान बनाइएको थियो तर सो क्षेत्र अपुग भएपछि बढाएर ५८.८ हेक्टर क्षेत्रफल पु¥याइएको छ ।

सन् १९७० को दशकमा नेपालबाट कृष्णसार लोप भइसकेको अनुमान गरिएको थियो । १९७५ मा बर्दियाको खैरापुरमा कृष्णसार देखिएपछि कृष्णसार संरक्षण गर्ने र स्थानान्तरण गरेर सङ्ख्या बढाउने कार्यको थालनी भएको थियो । १९७७ देखि १९८९ सम्म बर्दिया राष्ट्रिय निकुञ्जको बघौराफाँटामा १६ वटा, १९८५ देखि १९८८ सम्म थप चार र १९९२ मा २६ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । यद्यपि त्यहाँ कृष्णसार बाँच्न नसकेको जनाइएको छ । सन् २००९ मा बर्दियाको गुलरिया नगरपालिकास्थित १६.९६ हेक्टरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेर त्यहाँ संरक्षणको कार्य जारी राखिएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।