कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग

Image
फाइल फोटो
maya metro

कञ्चनपुर – जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन्। यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारीसाधन गुडाउन अवरोध समेत गरेका छन्।

निर्माण व्यवसायीले सडक कालोपत्रको काम लामो समयदेखि अगाडि नबढाएपछि सवारीका कारण उड्ने धुलो स्थानीय बासिन्दा समस्यामा परेका छन। ‘सडक कालोपत्र अगाडि बढाउनुपर्यो, त्यो तत्काल हुन नसके सडकमा उड्ने धुलो रोक्नुपर्यो।’ स्थानीय दिनेश कुँवरले भने, ‘सडकमा उड्ने धुलो घरभित्र पस्छ, बस्नै नसकिने अवस्था आएको छ।’ धुलो माटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको उनले बताए। उनीहरूलाई बिरामी हुनबाट जोगाइदिन आग्रह पनि गरे। विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै धुलाम्मे हुने गरेका स्थानीय नरबहादुर ऐरले बताए।

nisarga

सडक कालोपत्र अगाडि बढाउन पूर्वाधार विकास कार्यालय र शुक्लाफाँटा नगरपालिकासम्म आग्रह गर्दै आए पनि सुनवाइ नभएको उनले बताए। धुलोले समस्या सृजना गरी बिरामी पर्न थाले पनि जनप्रतिनिधि हालचाल बुझ्न नआएको स्थानीय बासिन्दाले गुनासो पोखे। सडकको धुलोको जबसम्म व्यवस्थापन हुँदैन, तबसम्म सडकमा सवारीसाधन गुडन नदिने स्थानीय बासिन्दाले बताएका छन्। कलुवापुर–बेलौरी सडक सुदूरपश्चिमको गौरवको योजनामा समावेश गरिएको छ।

सडकको कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्र हुनसकेको छैन। सोही सडकको ढक्का चाँनदेउबाट कालागौंडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र छ।

‘निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दै आएका छौँ’, पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख योगेन्द्रबहादुुर अधिकारीले भने, ‘निर्माण व्यवसायीले काम अगाडि बढाउने अश्वासन दिन्छन्, काम अगाडि बढाउँदैनन्।’ कलुवापुरबाट दक्षिणको चार लेन सडक कालोपत्रको कार्य मङ्सिर मसान्तसम्म पूरा गर्न पत्राचार गरिएको उनले बताए। बन्साहबाट कलुवापुर सडक कालोपत्र गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। बहुवर्षीय ठेक्का सम्झौताअनुसार सो कामका लागि निर्माण व्यवसायी छनौट गरिएको थियो।