टीकापुर – टीकापुर हवाइमैदान पुनः सञ्चालनमा आएको छ । आइतबार तारा एयरले व्यावसायिक उडान भरेपछि पुनः सञ्चालनमा आएको हो ।
यसअघि गत कात्तिक १२ गते नेपाल एयरलाइन्सले परीक्षण उडान गरेको थियो । तारा एयको सानो जहाजबाट नेपालगञ्ज–टीकापुर उडान हुनेछ भने नेपालगञ्ज—काठमाडौं यति एयरलाइन्सले उडान गर्नेछ । टीकापुरदेखि काठमाडौंको भाडा ९ हजार रुपियाँ तोकिएको छ ।
कम्तीमा १५ सिटको बुक नभएमा बाँकी रकम टीकापुर नगरपालिकाले सोधभर्ना गरिदिने सम्झौता भएको छ । पाइलट विज्ञान गुरुङले टीकापुर एयरपोर्टका उडान अवतरणमा सहज बनाउन नजिकै रहेको हेलो नेपालको टावर हटाउनुपर्ने, धावनमार्ग रेखाङ्कन गर्नुपर्ने र पानी परेका बेला पनि प्रयोगमा आउन सक्ने हुनुपर्ने बताए ।
नागरिक उड्डन कार्यालय धनगढी कार्यालयका प्रमुख गणेशबहादुर सिंहले प्राधिकरणले सुदूरपश्चिममा भएका सबै एयरपोर्टबाट हवाइ सेवा सञ्चालन होस् भन्ने चाहेको बताए । प्रमुख सिंहका अनुसार आइतबार र विहीबार गरी टीकापुरमा हप्तामा दुई फ्लाइट हुनेछ । टीकापुरबाट २०४० सालमा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ यातायात चलेको बताइन्छ ।