अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा हाल देखिएको समस्याबारे छलफल गर्न बोलाइएको व्यवसायीको भेला सम्पन्न भएको छ । संघका वरिष्ठ उपाध्यक्षसहित ११ जना पदाधिकारीहरुले सामूहिक राजिनामा दिएपछि संघमा समस्या सिर्जना भएको थियो । संघको हलमा आज भएको भेलामा व्यवसायीहरुले आ आफ्नो तर्क राखेका छन् ।
भेलामा सहभागी व्यवसायी हरिकृष्ण पाण्डेले अब अध्यक्षले नैतिकताको आधारमा राजिनामा दिनुको विकल्प नरहेको बताए । व्यवसायी धर्मसिंह कुँवरले ११ जनाले सामूहिक राजिनामा दिएर पनि राम्रो नगरेको बताए । उनले ११ जनाले राजिनामा दिएर गलत विरुद्द लड्ने व्यवसायीहरुलाई धोका दिएको आरोप लगाए ।
उनले संस्थामा सल्लाहकार बनाएर आफुहरुलाई बेवकुफ बनाएको तर्क गरे । यस्तै व्यवसायी गणेश बलाएरले अध्यक्षले अब कार्य समितिमा बहुमत गुमाइसकेपछि वैैधानिकता खोज्नु गलत रहेको बताए । उनले यो समितिलाई व्यवसायीहरुले अस्विकार गरिसकेको बताए । त्यस्तै संघका पूर्व अध्यक्ष कमल कडायतले पनि अहिले कुरा बाहिर आएपनि संस्थामा लामो समयदेखि बेथिती रहेको बताए ।
त्यस्तै भेलामा बोल्दै व्यवसायी धनादेवी चोखालले संस्थाले व्यवसायीहरुको हितमा काम गर्न नसकेको बताइन् । उनले व्यवसायीको हकहितमा लाग्नुपर्ने संस्थाको कार्यसमिति आफैमा लडिरहेको बताइन् । त्यस्तै ईश्वरा आर्चायले अत्तरिया उद्योग वाणिज्य संघलाई यहाँसम्म ल्याउन आफुहरुले धेरै मिहिनेत गरेको बताउँदै अब यो समितिले काम गर्न नसक्ने बताइन् ।
व्यवसायी गोकर्ण भट्टले पनि अब अधिवेशनमा जानुपर्ने बताए । यस्तै व्यवसायी राजेन्द्र खड्काले मिलेर जानसक्ने अवस्था भए मिल्नु उचित हुने बताए । व्यवसायी गणेश महराले ११ जनाले आफ्नो मर्जीले राजिनामा दिएर गलत गरेको बताए ।
भेलामा बोल्ने व्यवसायीहरुले महोत्सवले संघमा विकृति सिंजना गरेको भन्दै महोत्सवको आयोजना गर्न नहुने बताए । राजिनामा दिने पक्षले बोलाएको भेलामा संघका अध्यक्ष भने उपस्थित भएनन् ।
७ सदस्यीय समन्वय समिति गठन
संघमा देखिएको समस्या समाधान को लागि व्यवसायीको भेलाले ७ सदस्यीय समन्वय समिति गठन गरेको छ ।
समितिमा गोकर्ण भट्ट , हरिकृष्ण पाण्डे , सुरत कार्की, धना चोखाल,धर्मसिंह कुँवर , वीर बहादुर चोखाल र गणेश महरा रहेका छन् ।
समितीले सबै पक्षसँग समन्वय गरेर वर्तमान समस्याको निकास दिने अपेक्षा गरिएको व्यवसायी एवम् संघका निर्वतमान वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले बताएका छन् ।