
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ स्थित अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले ‘एभरेष्ट नमुना संसद्–२०८३’ आयोजना गरेको छ ।
बोलन्याथलीको सहयोगमा विद्यालयले विद्यार्थीमा लोकतान्त्रिक संस्कार, संसदीय प्रक्रिया र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले ‘एभरेष्ट नमुना संसद्–२०८३’ आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रपति, सभामुख, प्रधानमन्त्री तथा मन्त्रीको शपथग्रहणबाट संसदीय प्रक्रिया सुरु गरिएको थियो । सभामुखको अध्यक्षतामा प्रश्नोत्तर, शून्य समय, विशेष समय, नियमापत्ति, ध्यानाकर्षण तथा सरकारको जवाफ जस्ता प्रक्रिया वास्तविक संसद्कै शैलीमा अभ्यास गराइएको थियो ।
कक्षा ९ र १० सम्मका विद्यार्थीले राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसदलगायत विभिन्न भूमिकामा सहभागी हुँदै संसदीय कार्यप्रणालीको व्यावहारिक अभ्यास गरेका थिए ।
नमुना संसद्मा विद्यार्थी सांसदले सीमा विवाद, पर्यटन प्रवर्धन, छाडा पशु चौपाया व्यवस्थापन, भ्रष्टाचार , रोजगारी, शिक्षा, स्वास्थ्य, महिला हिंसा, सडक दुर्घटना लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीको भूमिकामा रहेकी विद्यार्थी निशा विष्टले सांसदले उठाएका प्रश्नको जवाफ दिएकी थिइन् । उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई पुरुस्कृत गरिएको कार्यक्रममा बोलन्याथलीका प्रतिनिधि पदम साउँद सहितले प्रशिक्षण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले विद्यार्थीलाई संसदीय प्रणाली तथा लोकतान्त्रिक अभ्यासबारे प्रत्यक्ष अनुभव गराउने उद्देश्यले नमुना संसद् आयोजना गरिएको बताए ।
उनले आफूले विद्यार्थीमा नेतृत्व गर्न सक्ने क्षमता देखेको बताए । विद्यार्थीहरुको उत्कृष्ट प्रस्तुतीका लागि धन्यवाद दिँदै उनले यस कार्यक्रमले नेृतत्व गर्न सघाउने विश्वास लिएको बताए ।
त्यस्तै कक्षा ९ र १० का सामाजिक शिक्षक विरेन्द्र चौधरीले उक्त अभ्यास पाठ्यक्रमसंग समेत सम्बन्धित भएकोले विद्यार्थीले अझै प्रष्ट भएको महसुस आफुलाई भएको बताए ।
भदौ ५ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको कार्यक्रमकी प्रशिक्षार्थी विद्यार्थी विष्टले कार्यक्रमले आफ्नो क्षमता अभिवृद्धी गरेको बताइन् । उनले संसदीय अभ्यासमार्फत सामाजिक विषयको नागरिक चेतना भन्ने पाठबारे आफूलाई प्रष्ट भएको बताएकी थिइन् ।















