
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारमा रहेको शारदा विद्या निकेतनमा प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।
विद्यालयले आगामी माघ १२ गतेदेखि १६ गतेसम्म प्रथम संस्करणको शारदा फुटबल लिग (एसएफएल) सुदुरपश्चिम प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिताबारे आज आयोजकले विद्यालयमै पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभरका कक्षा १० सम्म संचालित १२ विद्यालयहरुले सहभागिता जनाउन पाउने विद्यालयका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई नगद ५० हजार र उपविजेता टिमलाई नगद २५ हजारसहित, ट्रफी र मेडल लगायतका पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता लिग कम नक आउटको फरम्याटमा संचालन हुनेछ ।
विद्यालयहरुमा लुकेर रहेका उमेर समुहका खेलाडीहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक शाहीले बताए । प्रतियोगिता गोदावरी स्याउले बजारमा रहेको शिवशक्ती युवा क्लबको खेल मैदानमा संचालन हुनेछ । प्रतियोगिताको टिम दर्ता शुल्क दक हबार तोकिएको छ ।
















