धनगढीमा आजदेखि सिप मेला, एक हजार ४० युवाले तालिम लिदै

Image

धनगढी – आजबाट सुरु हुने सिप तथा रोजगार मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवाले भाग लिने भएका छन्।

धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा धनगढीको खुलामञ्चमा तालिम आयोजना हुँदैछ। एक महिनासम्म चल्ने तालिमको बिहिवार सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

nisarga

धनगढीमा बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको उपमहानगरले जनाएको छ।

४० दिनसम्म चल्ने तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएकामा ३९ पालिकाका एक हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने छ।

स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको नगरप्रमुख गोपाल हमालले बताए। उनले युवाहरूलाई विभिन्न सिप सिकाएर आकर्षक र राम्रो रोजगारीको अवसर पाउन भनेर विभिन्न २९ विषयमा तालिम दिन लागेको बताए।

मेलामा प्रतिस्पर्धाबाट छानिएका प्रशिक्षकहरूबाट २९ विषयमा तालिम दिइने छ। ३० दिन विभिन्न विधामा सिपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ।

यस्तै, दुई दिन रोजगारदाता र तालिम प्राप्त युवाहरूबिच अन्तरक्रिया गर्नका लागि रोजगार मेला आयोजना गरिने छ। बिहिवार दिउँसो एक बजे सङ्घीय मन्त्री दामोदर भण्डारीले मेला उद्घाटन गर्ने कार्यक्रम रहेको छ।