माओवादीको आक्रमणबाट ध्वस्त अछाम दरबार पुनर्निर्माणपछि उद्घाटन

Image
maya metro

अछाम – माओवादीको आक्रमणबाट ध्वस्त भएको अछाम दरबार पुनर्निर्माणपछि उद्घाटन गरिएको छ।

अछाम दरबारको सोमवार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन। पुनर्निर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबारको उद्घाटन गरिएको हो। २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो। सहरी विकास मन्त्रालय मातहत निर्माण भएको दरबार अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई मन्त्री सिंहले हस्तान्तरण गरेका छन्।

nisarga

अछामको पहिचान बोकेको दरबारलाई सदुपयोग गरेर नयाँ पुस्तालाई ऐतिहासिक महत्वको बारेमा जानकारी दिनुपर्ने मन्त्री सिंहले बताए। ‘दरबारले अछामको ऐतिहासिक पहिचान बोकेको छ। यसको महत्वका बारेमा आउने पुस्तालाई जानकारी दिनैपर्छ,’ उद्घाटन गर्दै उनले भने,’ दरबारको विकास र बाँकी संरचना निर्माण गर्न हामी काम गर्छौं।’

अछाम दरबारमा साविकका कार्यालय सञ्चालन गर्ने कि संग्राहलयका रुपमा विकास गर्ने भन्नेबारे छलफल भइरहेको छ। दरबार संरक्षणका लागि मन्त्रालयले बजेट उपलब्ध गराउनुपर्ने मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए। दरबार २ करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको हो। दरबार तीन सय २० वर्गमिटरमा बनेको छ। दरबार क्षेत्रको जम्मा ९ सय ६० वर्गमिटर रहेको छ। झदरबार परिसरको संरचना र संरक्षणका लागि चालु आर्थिक वर्षमा मन्त्रालयले मातहत कार्यालयबाट बजेट चलाउन मिल्ने गरी २ करोड बजेट छुट्याइएको र बोलपत्र आह्वान गर्ने भएको छ।

दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत सञ्चालन भए पनि आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो। आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसमेत मारिएका थिए। घटनामा क्याप्टेनसहित ५३ सैनिक, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो।

अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसैनका तत्कालीन राजा टीकाभुक शाहका पालामा निर्माण सुरु भएको हो। उनका छोरा दलबहादुर शाहका पालामा १९३५ सालमा निर्माण पूरा भएको थियो।