
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षा नतिजा सार्वजनिक गरेको छ। नगरपालिकाको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार चैत २५ गते नतिजा सार्वजनिक गरिएको हो।
नगरपालिकाले विद्यार्थी तथा विद्यालयहरुलाई नतिजा https://emis.cehrd.gov.np/ मा गएर हेर्न सकिने व्यवस्था गरेको छ। विद्यालयहरुले EMIS Login गरी Manage Exam Tab मा गएर ‘Grade Wise Ledger’ हेर्न सक्नेछन्। त्यसपछि आवश्यक विवरण छानेर Print गर्न सकिने जानकारी दिइएको छ।

यसैबीच, कुनै दुई विषयसम्म NG (Not Graded) प्राप्त गरेका विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्नेछन्। ग्रेडवृद्धिका लागि फाराम २०८२ बैशाख ८ गते भित्र भर्नुपर्नेछ भने परीक्षा बैशाख १६ र १७ गते बिहान ८ बजेबाट सञ्चालन हुने जानकारी दिइएको छ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले प्रति विषय रु. १०० दरले लाग्ने राजश्व बुझाउनुपर्नेछ। साथै, विद्यालयले Alphabetical Order मा तयार पारेको विवरणसहितको निवेदन बैशाख ३ गतेभित्र कार्यालयमा पेश गर्नुपर्नेछ। संस्थागत विद्यालयका विद्यार्थीका लागि परीक्षा शुल्क प्रति विद्यार्थी रु. २५० तोकिएको छ।
यस वर्ष नगरपालिकामा कक्षा ५ र ८ का लागि नगरस्तरीय परीक्षा सञ्चालन गरिएको थियो। चैत ६ गतेसम्म सञ्चालन भएको परीक्षामा कक्षा ८ का लागि १३ वटा केन्द्र तोकिएको थियो। परीक्षामा ५९ विद्यालयका ३,२३१ विद्यार्थी सहभागी भएका थिए।


















