
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित समैजी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सिता चौधरी चयन भएकी छिन् ।
अभिभावक भेलाबाट छनोट भएर आएकी चौधरी मंगलबार अध्यक्षमा चयन भएकी हुन् । अध्यक्ष चयन प्रक्रियामा अभिभावकबाट छनोट भएर आएका ४ जना , नगरपालिकाले पठाएका २ जना र वडाले पठाएका १ जना गरि ७ जना सहभागी हुने कानुनी व्यवस्था छ ।

बहुमतका आधारमा चौधरी चयन भएको विद्यालयकी प्रधानाध्यापक बिन्दु बलायरले बताइन् । यसअघि अभिभावकबाटै चुनिएर आएका धिरेन्द्र बोगटी र नगरले पठाएकी प्रतिनिधी चन्द्रा भुल अध्यक्षका आकांक्षी भएपनि दुवै जनाले दावी नछोड्दा चयनको प्रक्रिया आइतबार स्थगित भएको थियो ।
अभिभावकबाट चौधरी, बोगटीसहित दिनेश कार्की र कल्पना चौधरी छनोट भएर आएका थिए भने भुल र टेक बहादुर देउवालाई नगरपालिकाले तथा चन्द्र बिसीलाई वडाले प्रतिनिधिको रुपमा पठाएको थियो ।
अध्यक्ष चयन भएकी चौधरी २०७४ की वडा सदस्य हुन् भने गोदावरी नगरपालिकामै पहिलो भलमन्सा महिला समेत हुन् ।















