
अत्तरिया – सुदुरपश्चिम प्रदेशलाई आज “साक्षर सुदुरपश्चिम प्रदेश” को रूपमा औपचारिक घोषणा गरिएको छ। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांकका आधारमा यो घोषणा गरिएको हो। मुख्यमन्त्री माननीय कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।
सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो।
यसअघि सुदुरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए। सुदुरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ, यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्।
















