
अत्तरिया – पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर- ३ का जीवन माझी कक्षा ११ को परिक्षा दिएर बसेका थिए । साथीले भारतको एउटा कम्पनीमा काम उपलब्ध रहेको र दैनिक १ हजारका दरले पैसा पाइने भएकोले आउन सुझाव दिएपछि उनले भारतको यात्रा तय गरे । काम के हो? भनेर पनि सोधेका थिए । प्याकिङको काम हो भनियो ।
आफ्नै साथीले भनेको भएर विश्वास पनि गरे । परिवारको कमजोर आर्थिक अवस्था उनलाई थाहा थियो त्यसैले धेरै सोचेनन् । बोलाहट भएको ठाउँमा केहि दिनमै पुगे । त्यहाँ पुगेपछि धेरै दिनसम्म उनलाई एउटा सेन्टरसम्म लगेर ‘डाइलग डेलिभरी’ गर्न सिकाइयो । बस्नका लागि एउटा कोठा थियो, जस्मा १० जनासम्म बस्थे । यो क्रम करिब १५ दिनसम्म चल्यो । तर पहिले बताइए अनुसार काम सुरु भएन् । नेपाली युवा विरेन्द्र शाही समूहले नेपाली ४० हजार रुपियाँ जीवनबाट पहिले नै लिइसकेको थियो ।

त्यसपछि आफन्त, साथीभाइलाई यता बोलाउन शाही लगायतको समूहले दबाब दिन थाले । बोलाउने साथीसहित त्यहाँ भएका अन्य युवाहरुले बताएपछि मात्रै आकर्षक रोजगारीको प्रलोभनमा जीवनले आफू फसेको भेउ पाए । उनलाई त्यहाँ बोलाउने साथी पनि त्यसैगरि फसेका रहेछन् र शाहीको समूहले सम्पर्कमा भएका साथी, आफन्तलाई राम्रो काम रहेको भनि बोलाउन दिएका दबाबका क्रममै उनले जीवनलाई बोलाएका रहेछन् ।
शाही समूहले जीवन लगायत त्यहाँ भएका सबै युवाहरुलाई कामको प्रलोभन देखाएर मान्छे बोलाउन दबाब दिने र मान्छे ल्याएमा तलब तलब पाइन्छ भनेर प्रलोभन दिने अनि नल्याएमा कुटपिट गर्नेदेखि ज्यान मार्नेसम्मका धम्की दिने गरेका थिए । जीवनको मोबाइल शाही समूहको कब्जामा रहन्थ्यो । उक्त समूहले कहिले आफै कुरा गथ्र्यो भने कहिले आफ्नो निगरानीमा जीवनलाई नै कुरा गर्न अह्राउँथ्यो ।
आफू यसरी बन्धक बनेको थाहा हुँदाहुँदै पनि मिठामिठा कुरा गरेर उनले अरु साथीहरुलाई पनि बोलाउने प्रयास गरे । ति मध्य एकजना जीवन भएकै ठाँउमा पुगे । उनीबाट पनि शाही समूहले ४० हजार नेपाली लियो । तर जीवनलाई भने पैसा दिइएन । परिवारको आर्थिक अवस्था महसुस गर्दै करिब २५ हजार भारतिय रुपियाँ ऋणको बोझ बोकेर, पढाई माया मारेर भारत पुगेका जीवन शाही समूहको चङ्गुलमा परे ।
काचो भात र बेसार पानी अनि चिसो भुँईको सुताइमा करिब १० महिना बिताएका जीवन बुधबार (असार ११) सामाजिक संस्था किन इन्डियाको सहयोगमा देश फिर्ता भए । नारकीय जीवन बिताएर सकुशल देश फर्किएका जीवन नाकामा पुग्दा भने खुसी देखिन्थे । घटनाको बेलिबिस्तार लाउँदै उनले भने “आफू फसेको छु भन्ने थाहा थियो, अरु मान्छे बोलाउने भए बोलाउ नत्र जे पनि हुनसक्छ भनेर शाही समूहले निरन्तर धम्की दिन थालेपछि मैले पनि एक जना साथीलाई बोलाए ।”
धरानका राजेश राईको पिडा पनि जीवनको भन्दा कम छैन । काम बिहिन बसिरहेका बेला साथीले म्यासेज गरेर प्याकिङको काम छ आउ भने । राजेश विश्वास गरेर भारत पुगे । पुगेको एक महिनापछि आफ्नै परिवारको र चिनेको मान्छे तान्ने काम हो भनेर थाहा पाए । त्यसपछि घर फर्किन खोज्दा शाहीले दिएनन् । त्यहिबिचमा राजेशले आमा गुमाए, आफूलाई फर्काइदिन उनले गुहार गरे । तर सफल भएनन् ।

बरु उनीमाथि कुटपिट भयो । आफूले ४० हजार नेपाली रुपियाँ शाहीलाई बुझाएको उनले बताए । बन्द कोठाभित्र चुनौतीपूर्णरुपमा ५ महिना बिताएका राजेश, शाही लगायत समूहलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउँछन् । अझै थुप्रै युवाहरु बन्धक भएर बसिरहेको उनीहरुले बताएका छन् । ठगी गर्ने शाहीसहित भारतको उत्तर प्रदेशका २८ वर्षीय सचिन कुमार र उत्तराखण्डका २६ वर्षीय मनिष तिवारी हाल भारतिय प्रहरीको नियन्त्रणमा छन् ।
डोटीको शिखर नगरपालिका वडा नम्बर- १ का २१ वर्षीय शाही लगायतको समूहले लामो समयदेखि युवाहरुलाई आकर्षक रोजगारी दिलाउने प्रलोभनमा प्रतिव्यक्ति चालिस हजारसम्म लिएर भारत बोलाउने र त्यसरी बोलाइएकाहरुलाई आफ्ना साथीभाई र चिनजानका व्यक्तिहरुलाई बोलाउन लगाउने धन्दा गर्दै आएको खुलेको छ । भारतको उत्तराखण्डस्थित काशीपुर र रुद्रपुरमा बन्धक बनाइएका ५७ जना नेपालीलाई बुधबार नेपाल ल्याइएको थियो ।
गत असार ५ गते नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ३५ जना तथा ७ गते भारतकै रुद्रपुरबाट २२ जना नेपालीहरूको उद्धार गरिएको थियो । सो क्रममा गड्डाचौकी नाकामा सुदूरपश्चिम प्रदेशका डिआइजी, कञ्चनपुर प्रहरी प्रमुख,कंचनपुरका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
उद्धार गरिएकामा चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५, उदयपुर, तेह्रथुम र पाँचथरका ४/४, दाङ, स्यांजा र बाँकेका ३ /३, ताप्लेजुङ, डोटी र धादिङका २/२ र सर्लाही, काँस्की, रुकुम, बाग्लुङ,इलाम र रुपन्देहिका १/१ जना रहेका छन् ।
बुधबार राती कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा राखिएका उनीहरुलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयसंग पनि समन्वय रहने गरि सार्वजनिक यातायात व्यवसायीहरुको सहयोगमा बिहिबार गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
















