दुर्गालक्ष्मीमा व्यवस्थापन समितिको कार्यकाल सकियो, अभिभावक भेलाको तयारी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिकोे कार्यकाल सकिएको छ ।

व्यवस्थापन समितिको अध्यक्षमा २०७९ जेठ २८ गते तीन वर्षको लागि गणेश शाह चुनिएका थिए । समितिको कार्यकाल सकिएपछि नयाँ व्यवस्थापन समिति चयनको प्रक्रियाको तयारी सुरु गरिएको विद्यालयका कार्यवाहक प्रधानाध्यापक ललन प्रसाद चौबेले बताएका छन् ।

nisarga

उनका अनुसार अभिभावक भेलाको तयारी सुरु गरिएको छ। अहिले कक्षा ११ को भर्ना प्रक्रिया चलिरहेको र ति अभिभावकलाई पनि भेलामा सहभागी गराउने गरि भेलाको तयारी भइरहेको हो ।

“अहिले कक्षा ११ को भर्ना चलिरहेको छ, ११ मा भर्ना भएका विद्यार्थीका अभिभावकलाई पनि अभिभावक भेलामा सरिक गराउने गरि अभिभावक भेलाको तयारी गरिरहेका छौं, चौबेले भने, अब केहि दिनमा सूचना जारी गछौं ।”

समितिको कार्यकाल सकिनुभन्दा एक महिना अगाडी नै अभिभावक भेला गर्नुपर्ने कानुनी व्यवस्था भए पनि चैत्रमा आयोजना गरिएको स्वर्ण महोत्सव, शिक्षक आन्दोलन र नयाँ भर्नाका कारण अभिावक भेलामा केहि ढिलाई हुन गएको बताइएको छ ।

व्यवस्थापन समितिका लागि अभिभावक भेलाबाट ४ जना छनोट हुने व्यवस्था छ । त्यस्तै दुई जना नगरपालिका र एक जना प्रतिनिधि वडाले पठाउनु पर्ने व्यवस्था रहेको छ भने प्रधानाध्यापक र एक जना शिक्षक प्रतिनिधि पनि समितिमा रहन्छन् ।

अध्यक्ष चयन प्रक्रियामा भने अभिभावकबाट छनोट भएर आएका ४ जना , नगरपालिकाले पठाएका २ जना र वडाले पठाएका १ जना गरि ७ जना सहभागी हुने कानुनी व्यवस्था छ ।

विद्यार्थी सङ्ख्याको आधारमा देशभरका दश विद्यालयभित्र पर्ने दुर्गालक्ष्मी सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएको विद्यालय हो ।

शैक्षिक गतिविधि र भौतिक संरचनाका हिसाबले पनि बलियो मानिने यो विद्यालयको व्यवस्थापन समितिलाई यस क्षेत्रमा चासोका साथ हेर्ने गरिन्छ ।

सोहि कारण २०७९ मा पनि समिति चयनको प्रक्रिया झण्डै तीन महिना लम्बिएको थियो । जेठ २८ गते कार्यकाल सुरु हुने भएपनि अध्यक्ष शाहको नियुत्ति भदौमा मात्रै भएको थियो ।

विद्यालयले गत चैत्र अन्तिम साता आफ्नो ५० औं स्वर्ण तीन दिनसम्म महोत्सव भव्यताका साथ मनाएको थियो । विद्यालयमा हाल तीन हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

गत वैशाख १८ गते विद्यालयका प्रधानाध्यापक शिवराज जोशी अनिवार्य अवकाशमा गएपछि चौबेले कार्यवाहक प्रधानाध्यापकको जिम्मेवारी सम्हालीरहेका छन् ।