
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ र- ४ जोड्ने भालु खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ । स्थानीय स्तरमा बास्कोटा खोला भनेर चिनिने भालु खोलमा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय कैलालीले श्रीपुर कालापानी मोहित जेभिसंग असार २५ गते ठेक्का सम्झौता गरेको हो ।
कार्यालयले श्रीपुर कालापानी मोहित जेभिसंग मूल्य अभिवृद्धी करसहित ३ करोड ७४ लाख ४७ हजार २०८ रुपियाँमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताएका छन् । खत्रीका अनुसार खोलामा करिब ४० मिटर लामो पक्की पुल बन्नेछ ।

पुल निर्माणका लागि निर्माण व्यवसायी छनोट गर्न पूर्वाधार विकास कार्यालय कैलालीले २०८१ चैत्र २९ मा टेण्डर आह्वान गरेको थियो । परेका टेन्डरहरुको मूल्याङ्कनपश्चात न्यूनतम मूल्याङ्कित सारभूत रूपमा श्रीपुर कालापानी मोहित जेभिको बोलपत्र स्वीकृत गरी ठेक्का सम्झौता गरिएको बताइएको छ ।
भालुखोलामा पुल नहुँदा अत्तरियासम्म आउन बास्कोटा लगायतका स्थानीयहरुले लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय मिन बहादुर देउवाले भालु खोलामा पक्की पुल निर्माणको लागि ठेक्का सम्झौता हुँदा खुसी लागेको बताए । “यो खोलामा पुल नहुँदा हामीले वर्षौँदेखि समस्या झेल्दै आएका थियौं, बढी पानी पर्दा विद्यार्थीहरु विद्यालय नै जान नसक्ने अवस्था रहेको थियो, उनले भने पुल बन्ने भएपछि सजिलो हुने भयो ।”
खोलामा पुल नहुँदा राष्ट्रिय मावि बास्कोटा, दुर्गालक्ष्मी नमूना मावि अत्तरिया जाने विद्यार्थीहरुले दैनिक सास्ती खेप्दै आएका छन् । स्थानीयहरुले भालुखोलामा पुल नहुँदा सास्ती भइरहेको बताएपछि कैलाली क्षेत्र नम्बर ४ की प्रदेश सभा सदस्य खेमा देवी विष्टले सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा समक्ष योजना पेश गरेकी थिइन् ।
एक वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने गरि पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि विष्टले थापालाई धन्यवाद दिएकी छिन् । पुल समयमै निर्माण गर्न ठेकेदारलाई झक्झक्याउने उनले बताएकी छिन् । यो पुल निर्माण सम्पन्न भए गोदावरी २ र ४ का साथै ६ र ७ नम्बर वडाबासी समेत लाभान्वित हुनेछन् ।















