भानु जयन्तीमा गोदावरी नगरस्तरीय कविता प्रतियोगिता हुने

Image
maya metro

अत्तरिया – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्म जयन्तीको अवसरमा गोदावरी नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता हुने भएको छ।

अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयले २९ गते (भोलि) नगरस्तरीय अन्तर मावि कक्षा (९ र १०) कविता प्रतियोगिता आयोजना गर्ने गर्न लागेको हो ।

nisarga

प्रतियोगितामा प्रथम पुरस्कार रू२ हजार १००, द्वितीय पुरस्कार, १ हजार ६००, तृतीय पुरस्कार रू १ हजार १०० र सान्त्वना पुरस्कार रू. ६०० तथा प्रमाणपत्र दिइने समितिका संयोजक राजबहादुर कडायतले बताए।

सो प्रतियोगितामा सहभागी हुनका लागि गोदावरी नगर भित्रका माध्यमिक तह (कक्षा ९ र १०)मा अध्ययनरत १० जना विद्यार्थी सहभागी हुँदै छन् ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन्।

मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए।