
अत्तरिया – अछाममा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । ढकारी गाउँपालिका–४ स्थित बसन्त सामुदायिक वनमा बाघको आक्रमणबाट कैलालीको मोहन्याल गाउँपालिका–१ फलिबिसौनाका ४८ वर्षीय धर्मसिंह थापा घाइते भएको प्रहरीले जनाएको छ ।
थापा पुर्ख्यौली घर अवलोकनका लागि ससुराली घर ढकारी गाउँपालिका–४ कैलास गएका थिए । सामुदायिक वन अन्तर्गतको बोके खोला क्षेत्रमा जाँदै गर्दा बाघले आक्रमण गरी थापालाई घाइते बनाएको स्थानीयले जानकारी दिएका छन्।

घटनापछि उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको हो। थापाको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको छ भने अवस्था मध्यम रहेको बताइएको छ।
घटनाको जानकारी अन्दाजी राति ९ बजे थापाका ससुरा प्रेमबहादुर साउँदले प्रहरी चौकी ढकारीमा दिएका थिए। वन क्षेत्रमा सुरक्षा सतर्कता बढाउनुपर्ने स्थानीयवासीले माग गरेका छन्।














