
अत्तरिया – बाजुरास्थित प्रसिद्ध तीर्थस्थल बडिमालिकाबाट फर्किने क्रममा फेरि अर्का तिर्थयात्रीको मृत्यु भएको छ ।
शुक्रवार साँझ बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। मन्दिर दर्शन गरेर फर्किँदै गर्दा उनी करिब २५० मिटर तल खसेका थिए।

यसअघि बिहीवार राति पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझाको पनि लडेर मृत्यु भएको थियो। हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएका ओझा करिब ७०० मिटर तल खसेका थिए। तीर्थयात्रामा उनी आफ्नै परिवारका पाँच सदस्यसँग गएका थिए।
बडिमालिका मन्दिरबाट करिब एक घण्टाको दूरीमा अवस्थित अप्ठ्यारो बाटो हुँदै फर्किने क्रममा दुवै घटना भएको प्रहरीले जनाएको छ।साउन २३ गते हिजो बडिमालिकामा विशेष पूजा भएको थियो।
















