शिक्षा विधेयकप्रति प्याब्सनको असन्तुष्टि

Image
maya metro

अत्तरिया – निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (प्याब्सन) गोदावरी नगरकार्यसमितिले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाएको छ । विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै प्याब्सन नगर कार्यसमितिले गोदावरी नगरप्रमुख वीरेन्द्र भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।
प्याब्सन गोदावरीका अध्यक्ष मदन जोशीका अनुसार, केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार देशभरका पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत गोदावरीमा पनि ज्ञापनपत्र बुझाइएको हो । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक २०८० मा समावेश केही धाराहरूमा संगठनको आपत्ति रहेको उनले बताए ।

ज्ञापनपत्रमा निजी विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाउनुपर्ने भनाइ हटाउन, “पूर्ण छात्रवृत्ति” भन्ने शब्दावली संशोधन गर्न, हाल प्रचलनमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिन तथा छात्रवृत्तिमा भर्ना, वार्षिक र मासिक शुल्क मात्र समावेश गर्नुपर्ने माग राखिएको छ ।

nisarga

प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगबीर थापाले पनि विधेयकका कतिपय बुँदाहरू शिक्षा ऐन र कम्पनी ऐन दुवैसँग विसंगत भएको दाबी गर्दै ती संशोधन गर्नुपर्ने धारणा राखे । उनका अनुसार, सरकारले प्रस्तावित १५ प्रतिशत छात्रवृत्तिमा बसोबास, पोसाक र खानपान सम्म समावेश गर्न खोज्नु व्यावहारिक नभएको र संस्थागत विद्यालयमाथि अनावश्यक बोझ थोपर्ने कार्य हो । उनले यसले निजी विद्यालयलाई आर्थिक संकटमा पार्ने बताए ।

ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख भट्टले निजी विद्यालयका जायज मागमा नगरपालिकाको पूर्ण समर्थन रहने बताए । उनले सामुदायिक स्तरका विद्यालयलाई समेत सरकारले धान्न कठिनाइ भइरहेको अवस्थामा निजी क्षेत्रले गरेको लगानी र योगदान प्रशंसनीय भएको बताए ।
“कठिन परिस्थिति हुँदाहुँदै पनि तपाईंहरूले सुदूरपश्चिमको शिक्षालाई अघि बढाइरहनुभएको छ,” उनले भने, “यस अवस्थामा नगरपालिका मात्र होइन, म व्यक्तिगत रूपमा पनि तपाईंहरूको पक्षमा छु।”