सरकार विरुद्ध प्याब्सन आन्दोलित, बसमा कालोझण्डा प्रदर्शन गरेर नगर परिक्रमा

Image
maya metro

अत्तरिया – निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (प्याब्सन) सरकार विरुद्ध आन्दोलित भएको छ । सरकारले ल्याएको शिक्षा विधेयकविरुद्ध प्याब्सन आन्दोलित भएको हो । प्याब्सन कैलालीको गोदावरी नगर कार्यसमितिले बिहीबार विद्यालयका बसमा कालोझण्डा टाँगेर नगर परिक्रमा गरेको छ । गोदावरी नगरपालिकामा रहेका ५२ वटा विद्यालयका बसमा कालो झन्डा प्रदर्शन गरेर शान्तिपूर्ण विरोध ¥याली गरिएको हो ।

विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राख्न नहुने,  हाल प्रचलनमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिने, गैरनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, निजीका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुनेलगायत माग प्याब्सनले राखेको छ । माग पूरा नभए निजी विद्यालयहरूले ९ भदौदेखि विद्यालय नै बन्द गर्ने प्याब्सनको केन्द्रीय समितिले निर्णय गरिसकेको छ ।

nisarga

विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै प्याब्सन नगर कार्यसमितिले केही दिन अघि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टलाई ज्ञापन पत्र बुझाएको थियो । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने गरी ल्याइएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक २०८० मा समावेश केही धाराहरूमा संगठनको आपत्ति रहेको प्याब्सन गोदावरीका अध्यक्ष मदन जोशीले बताए ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगवीर थापाले पनि विधेयकका कतिपय बुँदाहरू शिक्षा ऐन र कम्पनी ऐन दुवैसँग विसंगत भएको दाबी गर्दै ती संशोधन गर्नुपर्ने धारणा राखे । उनका अनुसार, सरकारले प्रस्तावित १५ प्रतिशत छात्रवृत्तिमा बसोबास, पोसाक र खानपान सम्म समावेश गर्न खोज्नु व्यावहारिक नभएको र संस्थागत विद्यालयमाथि अनावश्यक बोझ थोपर्ने कार्य हो ।

उनले यसले निजी विद्यालयलाई आर्थिक सङ्कटमा पार्ने बताए । उनले सरकारले प्रस्ताव गरेको पूर्ण छात्रवृत्ति व्यवस्था व्यवहारिक नभएको दाबी गर्दै भने, “स्टेशनरी, ड्रेस, आवास, भर्ना शुल्क, मासिक शुल्क सबै निःशुल्क बनाउनुपर्ने भनिएको छ, तर सरकारले नै यसलाई कार्यान्वयन गर्न सकेको छैन । निजी विद्यालयहरुले हाल १० प्रतिशतसम्म छात्रवृत्ति दिँदै आएका छन् ।” गोदावरीमा शुक्रबार निकालिएको ¥याली गेटा अस्पताल देखि सुरु भई अत्तरिया, स्याउले बजार, गोदावरी, मालाखेती हुँदै पुन अत्तरिया बजार सम्म पुगेको हो ।