
अत्तरिया – धनगढी उपमहानगरपालिकाले अत्याधुनिक दमकल खरिद गरेको छ। उपमहानगरले हालै खरिद गरेको अत्याधुनिक दमकलबाट बुधबारदेखि सेवा सुरु गरेको छ।
पाँच हजार लिटर पानी अटाउने क्षमता रहेको उक्त दमकलमा आगो निभाउने रसायन राख्ने सुविधा छ। ६६ लाख रुपैयाँमा फर्मसहितको नयाँ प्रविधियुक्त उक्त दमकल खरिद गरिएको उपमहानगरपालिकाले जनाएको छ।

नगर प्रमुख गोपाल हमालले नगरभित्र हुने आगलागी नियन्त्रणका लागि अत्याधुनिक दमकल खरिद गरिएको बताए। आगलागीको खबर पाएको तीन मिनेटभित्र उपमहानगर कार्यालयबाट दमकल परिचालन हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
विपद् व्यवस्थापनमा धनगढीको लगानी र पूर्वतयारी सुदूरपश्चिममै अब्बल रहेको हमालले दावी गरे। ‘हरघडी नगर प्रहरी’ भन्ने नारालाई व्यवहारिक बनाउँदै विपदलगायत घटनामा नगर प्रहरीको परिचालन प्रभावकारी बनाइएको उनको दावी छ।
नगर प्रमुख हमालका अनुसार आगलागीका बेला दमकललाई पानी भर्नका लागि उपमहानगरपालिकाले नगरभित्रका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिसकेको छ।















