एनपीएल : आज चितवनविरुद्ध लुम्बिनी पहिलो खेल खेल्दै

Image
maya metro

काठमाडौं – नेपाल प्रिमियर लिग एनपिएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

आज हुने एकमात्र खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ।

nisarga

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। गत संस्करण लुम्बिनी लायन्सका लागि बिसर्नलायक बन्यो। राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलको कप्तानीमा खेलेको लुम्बिनीले ७ मध्ये १ खेलमात्र जित्दै तालिकाको पुछारमा रहेर बाहिरिएको थियो।

औसतभन्दा कमजोर प्रदर्शन गरेको लुम्बिनी यसपटक सन्तुलित देखिन्छ। रोहितसहित ६ खेलाडी रिटेन गरेको लुम्बिनी यसपटक अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइबलाई अनुबन्ध गर्दै बलियो टोली बनाएको छ।

यता, युवा अलराउण्डर कुशल मल्ल मार्की तथा कप्तान रहेको चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो। औसत प्रदर्शनका बाबजुद एलिमिनेटरसम्म पुग्नु चितवनको सफलता बन्यो।

दुई विदेशीसहित १० खेलाडी यस पटक पनि चितवनबाटै खेल्दैछन्। गत संस्करण सर्वोत्कृष्ट खेलाडी बनेका इङ्ल्याण्डका ब्याटिङ अलराउण्डर सैफ अली जैबलाई अनुबन्ध गर्दै बलियो टोली बनाएको छ।

गत संस्करण लिग चरणमा यी दुईबीच भएको खेलमा लुम्बिनी ३३ रनले विजयी भएको थियो । चितवनविरुद्धको त्यो जित नै लुम्बिनीको एकमात्र सफलता हो। यसपटक पनि लुम्बिनी त्यही नतिजा दोहोर्याउने लक्ष्यमा रहँदा कर्णाली याक्सलाई हराएको चितवन बलियो उपस्थिति देखाउन चाहन्छ।