
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ उत्तर वनखेतमा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस क्यूएए (क्वालिटी एस्युरेन्स एक्रेडिटेसन, शैक्षिक गुणस्तर सुनिश्चितता) प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा प्रवेश गरेको छ । क्यूएए प्रदान गर्नका लागि विश्वविद्यालय अनुदान आयोगको एजुकेसनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यू टिमले आज (मंगलबार) देखि क्याम्पसमा आएर फाइनल एसेसमेन्ट गरेको छ ।
२०६३ सालमा स्थापित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले क्यूएए प्राप्तिका लागि २०७५ मा स्वअध्ययन प्रतिवेदन बुझाएको थियो । क्याम्पसमा आज गरिएको औपचारिक कार्यक्रममा प्रस्तुती राख्दै क्याम्पसका प्राध्यापक एवम् स्व मूल्यांकन समितिका संयोजक राम बहादुर मौनीले क्याम्पसले क्यूएए प्राप्त गर्न विसं २०७५ देखि प्रयास गरेको बताए । क्याम्पस प्रमुख डाक्टर नरेन्द्र बहादुर ऐरले गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रूपमा दुर्गालक्ष्मी रहेको बताए ।


उनले क्यूएए प्राप्त गरेमा पुन: क्यूएए पाउन थप गुणस्तर सुधार गरेर अगाडि बढ्नुपर्ने भएको हुँदा क्यूएए पहिलोपटक प्राप्तिपछि क्याम्पसमा अझै सुधार गर्ने हुटहुटी र हौसला जाग्ने बताए । विश्वविद्यालय अनुदान आयोग (युजिसी)का निर्देशक प्राध्यापक डाक्टर तिर्थराज खनीयाले एक दशकको अवधीमा दुर्गालक्ष्मीले भौतिक तथा शैक्षिक सुधारमा फड्को मारेको बताए । उनले क्यूएए पाउने विषय कसैको दयाले भन्दा क्याम्पसको शैक्षिक तथा भौतिक अवस्थाले निर्धारण गर्ने उनले बताए ।
त्यस्तै गुणस्तर सुनिश्चिता प्रत्यायन समितिका सदस्य प्राध्यापक डाक्टर रामजी गौतमले दुर्गालक्ष्मीमा भएको भौतिक र शैक्षिक सुधारले आफूलाई खुसी लागेको बताए । उनले क्यूएए पाएको पाँच वर्षपछि पुनः क्यूएएको प्रक्रियामा जानुपर्ने भएकोले क्यम्पसले त्यसै बमोजिम आफूलाई तयार गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेशको केन्द्रविन्दु अत्तरियामा सञ्चालित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा प्रदेशका नौ वटै जिल्लाका विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०६३ सालमा स्थापना गरिएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । क्याम्पसले विस २०७५ देखि सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत विभिन्न संकायहरु सञ्चालन गर्दै आइरहेको छ ।
मानविकी तथा समाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको विषय अध्ययन/अध्यापन हुँदै आएको क्याम्पसमा हाल एक हजार पाँच सय ७७ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने ४२ जना प्राध्यापक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेको क्याम्पस प्रशासनले जनाएको छ । भविष्यमा विज्ञान,सिभिल कम्प्युटर लगायतका सङ्कायहरु थप गर्ने योजना रहेको बताएको छ ।

क्यूएए के हो?
क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन – गुणस्तर सुनिश्चितता एवम् प्रमाणिकरण) एउटा प्रक्रिया हो जहाँ कुनै आधिकारिक निकायले क्याम्पसलगायत उच्च शिक्षामा संलग्न संस्थाहरुको विभिन्न मापदण्डहरुमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ । यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात् क्यूएए प्राप्त क्याम्पसहरुमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमाा उच्च शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्चशिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ।
















