सुदूरपश्चिमको अपराजित यात्रा कायमै, जनकपुर अझै जितविहीन

Image
maya metro

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा अपराजित यात्रा कायम राख्ने क्रममा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले गत वर्षको विजेता जनकपुर बोल्ट्सविरुद्ध ६ विकेटको जित निकालेको छ ।

शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

nisarga

सुदूरपश्चिमको जितमा इशान पाण्डेले अर्धशतकीय इनिङ खेले । उनले ३५ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ओपनर विनोद भण्डारीले ४२ रन थपे ।

१–२ को स्थितिबाट इशान र विनोद भण्डारीले तेस्रो विकेटका निम्ति ९२ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ सम्हालेका थिए । हर्मित सिंहले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे ।

अर्का ओपनर जन ब्रोन ‘डायमन्ड डक’ भए । क्रिस लिनले एक रन बनाए ।

जनकपुरका माज सदाकतले दुई विकेट लिए । सञ्जय कृष्णमुर्थी र आदित्य महताले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

जनकपुरका सञ्जयले ५० रनको योगदान गरे । उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे । सञ्जयको यो पहिलो अर्धशतक हो । दोस्रो संस्करणमा भने जनकपुरबाट बनेको यो तेस्रो अर्धशतक हो । यसअघिका खेलमा जनकपुरका ओपनर आसिफ शेख र वायन पार्नेलले अर्धशतक बनाएका थिए ।

७४–४ को स्थितिबाट सञ्जयले आदित्य महतासँग ५५ रनको साझेदारी गर्दै जनकपुरको मध्यक्रम सम्हालेका थिए । आदित्यले १५ रन जोडे ।

सञ्जयले त्यसअघि ३५–३ को स्थितिबाट जान निकोल लोफ्टी इटोनसँग ३९ रनको साझेदारी गरेका थिए । इटोनले ३३ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन थपे ।

ओपनर माज सदाकतले १२ रन बनाए । वायन पार्नेलले १४ रन जोडे । जनकपुरका अर्का ओपनर आसिफ शेख ‘डक’ र शुभ कंसाकार ‘गोल्डेन डक’ भए ।

१७.२ ओभरमा १२९–४ को स्थितिबाट जनकपुरले दुई रन थप्दा तीन विकेट गुमाएको थियो ।

सुदूरपश्चिमका अभिनाश बोहराले चार विकेट लिए । चार ओभरमा अभिनाशले ३० रन खर्चिए । स्कट कुग्गेलिनले तीन विकेट लिए । चार ओभरमा कुग्गेलिनले २२ रन मात्र खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरीका नाममा एक विकेट रह्यो ।

यो खेलमा जनकपुरले कप्तान परिवर्तन गरेको थियो । सुदूरपश्चिमविरुद्ध जनकपुरले कप्तानी जिम्मेवारी दक्षिण अफ्रिकाका वायन पार्नेललाई दिएको थियो । खेलमा नियमित कप्तान अनिलकुमार साह प्लेइङ–११ मा थिएनन् ।

जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान निश्चित गरेको छ । सुदूरपश्चिमले पछिल्ला पाँच खेलमा लगातार जितसहित प्लेअफ यात्रा तय गरेको हो । जनकपुरको भने अब गणितीय सम्भावना मात्र बनेको छ ।