प्रतिनिधि सभा निर्वाचन : कैलाली-४ मा १ लाख १५ हजार मतदाता, १३६ मतदान केन्द्र

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाखभन्दा बढी रहेको छ । यस क्षेत्रमा ५६ हजार ४ सय ६ पुरुष, ५८ हजार ७ सय ३६ महिला र १ अन्यको संख्या गरी कुल १ लाख १५ हजार १ सय ४३ मतदाता संख्या रहेको निर्वाचन आयोग नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गतको मतदान केन्द्रको विवरणमा उल्लेख रहेको छ ।

तीन ओटा पालिका र एक पालिकाको एउटा वडा रहेको क्षेत्र नम्बर ४ मा गोदावरी नगरपालिकामा सबैभन्दा बढी ५९ हजारबढी मतदाता रहेका छन् । १२ ओटा वडाहरु रहेको गोदावरी नगरपालिकामा ५९ हजार १ सय ३९ मतदाताहरु रहेका छन् । त्यस्तै ११ ओटा वडाहरु रहेको गौरीगंगा नगरपालिकामा ४१ हजार ९ सय ५० मतदाता रहेका छन् । ६ ओटा वडाहरु रहेको चुरे गाउँपालिकामा १२ हजार ५ सय ५२ मतदाताहरु रहेका छन् भने मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा १ हजार ५ सय २ मतदाताहरु रहेका मतदान केन्द्रको विवरणमा उल्लेख रहेको छ ।

nisarga

त्यसैगरी क्षेत्र नम्बर ४ मा कुल मतदान केन्द्र १३६ वटा रहेको छ भने मतदान स्थल ५७ वटा रहेको छ । गोदावरी नगरपालिकामा २४ ओटा मतदान स्थल रहेको छ भने ६९ ओटा मतदान केन्द्र तोकिएको छ । गौरीगंगा नगरपालिकामा १७ ओटा मतदान स्थल रहेको छ भने ४५ ओटा मतदान केन्द्रहरु तोकिएको छ । यस्तै चुरे गाउँपालिकामा १४ ओटा मतदान स्थल रहेको छ भने २० ओटा मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर ४ मा रहेको मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा २\२ ओटा मतदान स्थल र मतदान केन्द्र तोकिएको छ ।

कैलाली क्षेत्र नम्बर ४ मा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ स्थित कृषि तथा पुशपन्छी सेवा केन्द्र अत्तरियामा आज (शुक्रबार) निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयबाट उम्मेदवारहरुको मनोनयन दर्ता, मतपत्रहरु वितरण गर्ने, मतदान केन्द्र तथा स्थलहरुमा कर्मचारी खटनपटन गर्ने, मतदान सञ्चालन गरेर मतमेटीका संकलन गरी मत गणना पछि नतिजा घोषणा गर्ने लगायतका कामहरु हुने सहायक निर्वाचन अधिकृत गिरीराज भण्डारीले जानकारी दिएका छन् ।

कैलाली लगायत देशभरीका सबै निर्वाचन क्षेत्रमा आज नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार माघ ६ गतेदेखि विभिन्न चरणमा निर्वाचनसम्बन्धी काम कारबाही अघि बढाइने भएको छ । आयोगका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता सुरु हुनेछ । सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्तापछि माघ ६ गते नै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ ।

कार्यक्रमअनुसार माघ ७ गते उम्मेदवारीमाथि दाबी-विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी-विरोधउपर जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ । यस्तै माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारी फिर्तापछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।