
अत्तरिया – सुदूरपश्चिम प्रदेशका ५ पहाडी जिल्लामा निर्वाचन प्रहरीका लागि माग गरिएको संख्याभन्दा कम आवेदन परेको छ।
१३ हजार ६६९ जना म्यादी प्रहरी आवश्यक पर्नेमा बिहीबारसम्म १६ हजार १९३ जनाले फारम भरे पनि ५ पहाडी जिल्लामा भने माग भन्दा कम आवेदन परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले बताएका छन् ।

अछाम, डोटी, बझाङ, डडेल्धुरा र बैतडीमा मागभन्दा कम आवेदन परेको हो । तथ्याङ्क अनुसार बैतडीमा २५९ जनाको सङ्ख्या अपुग देखिएको छ । त्यहाँ १ हजार २७९ जना माग गरिएकोमा १ हजार २० जनाको मात्रै आवेदन परेको छ ।
यस्तै, अछाममा १ हजार ४६३ जना माग भएकोमा १७६ जना कम छन् । डडेल्धुरामा ९४४ जनाको कोटामा १३७ जना पुगेका छैनन् भने डोटीमा ९० र बझाङमा ३८ जनाको सङ्ख्या अपुग देखिएको छ ।
तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा माग भन्दा बढी आवेदन परेका छन् । कैलालीमा ३ हजार ५७६ जना माग गरिएकोमा ५ हजार १५१ जनाले आवेदन दिएका छन्।
त्यस्तै कञ्चनपुरमा पनि २ हजार ३५ जनाको माग भएकोमा २ हजार ९०६ जनाले आवेदन दिएका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पनि मागभन्दा झण्डै दोब्बरले आवेदन दिएका छन् ।
त्यहाँ ८८४ जना माग गरिएकोमा १ हजार ५४१ जनाले फाराम भरेका छन् । त्यस्तै अर्को पहाडी जिल्ला बाजुरामा पनि ९६४ जना निर्वाचन प्रहरी माग भएकोमा १ हजार ८५ जनाले आवेदन फाराम भरेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मिश्रका अनुसार कम आवेदन परेका ५ जिल्लामा शनीबारसम्म म्याद थप गरिएको छ । निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् ।
‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार एक निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब र जिल्ला दर निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक) पाउँछन् ।
निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ ।
यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ । निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भए घाइते स्वयंलाई र मृत्यु भए नजिकको हकवालालाई सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम उपलब्ध गराइनेछ ।
कुनै कारणले निर्वाचन रद्द भए वा स्थगित भए तालिममा रहेको भए पनि नियुक्ति स्वतः रद्द÷बदर हुने कार्यविधिमा उल्लेख छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिसकेको छ ।
निर्वाचनमा भित्री घेरा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि जोखिमका आधारमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा व्यवस्थापनमा सेना खटाउने तयारी छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी भर्ना छनोट समिति बनाइएको छ ।
भर्ना हुन दरखास्त गर्न पाउने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड छ । साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ ।
पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ केजी तौल र गर्भवती नभएको/नरहेको हुनुपर्ने मापदण्ड छ । छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम र ३० दिन फिल्डमा खटाउने गरी भर्ना गर्न लागिएको हो ।













