
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १० का सामुदायिक विद्यालयमा लागू गरिएको बुक फ्री फ्राइडे कार्यक्रम कार्यक्रम नतिजामुखी बन्दै गएको छ ।
विद्यार्थीहरुलाई अतिरित्त क्रियाकलापमा सहभागी गराउने उदेश्यले वडाले शैक्षिक सत्र २०८१ मा जानकी माध्यमिक विद्यालयमा बुक फ्री फ्राइडे कार्यक्रम लागू गरेको थियो ।

सो विद्यालयमा नमूनाको रुपमा लागू गरिएको कार्यक्रम नतिजामुखी बन्दै गएपछि चालु आर्थिक वर्षमा वडाका चारवटै विद्यालयहरुमा सो कार्यक्रम बिस्तार गरिएको थियो ।
वडा नम्बर- १० का वडा अध्यक्ष रविन्द्र शाही गुड्डका अनुसार नमूनाको रुपमा एउटा विद्यालयमा लागू गरिएको कार्यक्रमले सकरात्मक प्रतिक्रिया बटुलेपछि वडाका सबै सामुदायिक विद्यालयहरुमा बुक फ्री फ्राइडे कार्यक्रम लागू गरिएको हो ।
जानकी माविका प्रधानाध्यापक राम बहादुर पार्कीले हरेक हप्ताको शुक्रबार विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरका सिर्जनात्मक, व्यवहारिक र जीवनोपयोगी गतिविधिमा सहभागी गराउने गरिएको बताए ।
पढाइसँगै आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गर्ने अवसर पाएपछि विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा सक्रिय हुन थालेको उनले बताए । परम्परागत शैक्षिक पद्धतिभन्दा व्यवहारिक र सिपमूलक शिक्षा दिने उदेश्यले वडाले सुरु गरेको उक्त कार्यक्रम नतिजामुखी बनेको आफूले महसुस गरेको उनले बताए ।
हरेक शुक्रबार विद्यालयमा कक्षाकोठाको पढाईभन्दा बाहिरी ज्ञान सिक्ने भएकोले विद्यार्थीहरुमा लुकेर रहेका अन्तरनिहित क्षमताहरु प्रस्फुटन हुने गरेको पार्कीले बताए ।
उनले यस कार्यक्रम अन्तर्गत कला, संगीत, खेलकुद, सामुदायिक सेवा, सिर्जनशील लेखन, मञ्च उद्धघोषणजस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको र यसले विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास रहेको बताए ।
त्यस्तै गणेश आधारभूत विद्यालयकी प्रधानाध्यापक पुष्पलता रावलले प्रत्येक शुक्रबार गरिने विविध कार्यक्रमहरुले विद्यार्थीहरुमा सकरात्मक प्रभाव पारेको बताइन् ।

सबै विद्यार्थीहरु पढाईमा मात्रै उत्कृष्ट हुनुपर्छ भन्ने मान्यतालाई तोड्दै आफूसंग रहेका विभिन्न सिप र क्षमतालाई समयमै चिन्ने र सोही अनुसार आगामी बाटो पहिल्याउन सहज हुने विश्वास आफूहरुले लिएको उनले बताइन् ।
वडा नम्बर- १० का वडा अध्यक्ष शाहीले आफूले रुचाउने क्षेत्रमा ज्ञान र अनुभव बढाउने प्लेटफर्मका रूपमा यो कार्यक्रम लागू गरिएको बताए ।
भौतिक विकासले मात्र राष्ट्र अगाडि बढ्न नसक्ने भन्दै वडा अध्यक्ष शाहीले मानविय विकास सबैभन्दा महत्वपूर्ण रहेको बताए ।
त्रिपक्षीय सम्बन्धमा सुधार
उक्त कार्यक्रमले विद्यार्थी,शिक्षक र अभिभावकसंगको त्रिपक्षीय सम्बन्धमा पनि सुधार आएको जानकी माविका प्रधानाध्यापक पार्कीले बताए ।
विद्यालयमा आयोजना हुने अतिरित्त क्रियाकलाहरुमा आफूहरुले पुरस्कारको व्यवस्था गर्ने गरेको र सो पुरस्कार वितरणका लागि अभिभावकलाई बोलाउने गरेको उनले बताए । यसले गर्दा पहिले विद्यालय र आफ्नो बालबालिकाको पढाईलाई बेवास्ता गर्दै आइरहेका अभिभावकहरुले समेत चासो राख्ने गरेको उनले बताए ।
‘हामीले आयोजना गर्ने क्रियाकलापहरुमा पुरस्कारको व्यवस्था गर्ने गरेका छौँ र त्यो पुरस्कार वितरणका लागि अभिभावकहरुलाई बोलाउने गरेका छौं, उनले भने, यसो गर्दा नियमितरुपमा अभिभावकहरु विद्यालयमा आउनेजाने गर्दा विद्यालयप्रति उहाँहरुको अपनत्व वृद्धी भएको छ ।’
कार्यक्रम लागू हुनुभन्दा पहिले अभिाभावक भेलामा पनि पटकपटक बोलाउँदा समेत नआउने अभिभावकहरु अहिले बोलाउनासाथ आउने र आफूहरुले के-कस्तो सहयोग गर्नुपर्छ भनेर सोध्ने गरेको पार्कीले बताए ।
जसले गर्दा शिक्षकहरुमा पनि हामीले मिहिनेत गर्नुपर्छ भन्ने भावना जागृत भएको पार्कीले बताए ।
हरेक हप्ता नयाँनयाँ कुराहरु सिकाउनुपर्ने भएकोले शिक्षकहरुले पनि अन्य समयकोभन्दा बढी मिहिनेत गर्ने गरेको पार्कीको अनुभव छ ।
आजका बालबालिका नै भविष्यका कर्णाधार भएको यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनको भनाई छ ।














