धनगढीका मेयर हमालले भने -‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’

Image
maya metro

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ।’

स्वतन्त्र रूपमा चुनाव लडेर स्थानीय तहमा विजयी भएका चर्चित तीन मेयरमध्ये दुई जना भने पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनिसकेका छन्। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताका रूपमा झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा छन्। यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ गठन गर्दै सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन्।

nisarga

तर हमालले भने धनगढीका जनताले आफूलाई पाँच वर्षका लागि दिएको जनादेश पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन्। उनले मेयरको जिम्मेवारीमै केन्द्रित रहने बताएका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा उठेका हमाल कांग्रेसका नृपबहादुर वडसँग २ हजार ७०० मतले पराजित भएका थिए। तर २०७९ सालको निर्वाचनमा भने उनले उनै वडलाई पराजित गर्दै मेयरमा विजय हासिल गरे। हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत ल्याए। तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए।