
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका ८ वटा सडक कालोपत्रे हुने भएका छन् । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रिय सहरी विकास आयोजना धनगढीले निर्माण गर्न लागेका सडकको सोमबार गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शिलान्यास गरेका छन।
सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनी केएसएनएस-बिसिपिएल जेभिले गोदावरी– ५ स्थित गेटा आँखा अस्पतालदेखि धनगढी–अत्तरिया ६ लेन सडकखण्ड जोड्ने सडकखण्डबाट काम सुरु गरेको हो।

निर्माण कम्पनिका ईन्जिनियर भूपेन्द्र कुमार मण्डलले मूल्य अभिवृद्धी करसहित ३२ करोड ५९ लाख ५३ हजार ५१६ रुपैयाँ कुल लागतमा नगरका विभिन्न ८ वटा सडकहरु निर्माण गरिने बताए।
उनका अनुसार गेटा आँखा अस्पताल हुदैँ ६ लेन सडकखण्ड जोड्ने सडक, मालाखेती अस्पताल देखी कृष्णमन्दिर सम्मको सडक, ग्वासी मावि हुदै फल्टुडे जोड्ने सडक, अत्तरिया–रिङरोड, शान्तिमार्ग सडक, लालपुर गौडी सडक, मालाखेती भट्ट किराना पसल रोड, र तेघरी सुप समावेशी स्कुलदेखी आर्मी ब्यारेकसम्म गरी कुल ८.२३ किलोमिटर सडक निर्माण गरिनेछ । निर्माण हुने केहि सडकहरुमा फुटपाथ ड्रेन र स्ट्रिट लाईटको पनि व्यवस्था रहेको ईन्जिनियर मण्डलले बताए ।

सडक निर्माण कार्यको शिलान्यास पछि आफ्नो भनाई राख्दै नगरप्रमुख भट्टले एडीबीको बजेट ल्याउन आफूले धेरै मिहिनेत गर्नुपरेको बताए । आफूले लामो समयदेखि गरेको मिहिनेत पूर्णता पाउनेक्रममा रहेको उनले बताए । यि सडकहरु निर्माण भएमा नगरबासीलाई निकै सहज हुने उनले बताए ।
नगरको बजेटले विकासका धेरै कामहरु गर्न नसकिने भएकोले दताहरुको भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । नगरप्रमुख भट्टले ८ वटा सडकहरु निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनिले समय अगावै गुणस्तरिय कार्य गरि सम्पन्न गर्ने कुरामा आफू विस्वस्त रहेको बताएका छन् ।
‘हाम्रो फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का पनि यहि कम्पनीले पाएको थियो, उहाँहरुले गुणस्तरीय र समयमै काम गर्नु भएको थियो । त्यसैले यि सडकहरु निर्माण पनि समयमै सम्पन्न हुन्छन् भन्नेमा म विश्वस्त छु ।, उनले भने ।’
नगरपालिकालाई हस्तान्तरण गर्ने गरी स्विपिङ मेसिन र सिभरजेट मेसिन पनि प्रोजेक्ट अन्तरगत रहेको निर्माण कम्पनीले जनाएको छ । गत पुसमा सम्झौता भएको उक्त आयोजना २०८३ चैत्रमा सम्पन्न गर्नुपर्नेछ ।














