
कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।
मंगलबार यहाँ आयोजित विभागीयमन्त्री, राज्यमन्त्री, विभागीय सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेशस्थित चारै सुरक्षा प्रमुखसहितको बैठकमा उनले भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका निकायलाई निर्देशन दिएका हुन् । बैठकमा निर्वाचन सफल रूपमा सम्पन्न गराउनु प्रदेश सरकारको जिम्मेवारी भएकाले सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले आग्रह गरे।

मुख्यमन्त्री शाहले सङ्घीय सरकार र सङ्घीय नेतृत्वले निर्वाचन गराउन राज्यका सबै संयन्त्र परिचालन गरिसकेको अवस्थामा ठाउँठाउँमा निर्वाचन सामग्री पुगीसकेको बताउँदै प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग गरिने स्पष्ट पारे ।
साथै बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ भव्यताका साथ मनाउने निर्णय गरेको छ । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा सदस्यीय राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति, २०८२ गठन गरिएको छ ।
जसको सदस्यमा मन्त्रीहरू, जिल्ला समन्वय समिति प्रमुख। कैलाली प्रदेश सरकारका प्रमुख सचिव, धनगढी उपमहानगरपालिका प्रमुख, पृतनापति, उपरथी प्रदेश सरकारका सचिव प्रमुख, जिल्ला अधिकारी कैलाली, प्रहरी नायब महानिरीक्षक, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सुदूरपश्चिम प्रदेश रहनुभएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय सदस्य–सचिव रहेका छन् ।
बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, आन्तरिक मामिला तथा मन्त्रालय कानुनमन्त्री हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउँद, प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद् वैकुण्ठप्रसाद अर्याल, पृतनापति उपरथी, पृतना हेडक्वाटर तेघरीका किरण केसीलगायतको उपस्थिति थियो ।















