
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ अनामनगरमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घण्टेश्वर पिनाकेश्वर मन्दिरको आकर्षक तथा कलात्मक निर्माण कार्य सम्पन्न भएको छ ।
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको जोरायल क्षेत्रबाट कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडामा बसाइँ सरेका मानिसहरूले उक्त मन्दिरको निर्माण गरेका हुन् ।

टिकापुर नगरपालिकाका इन्जिनियर नविन ओझा र गोदावरी नगरपालिका वडा नम्बर- १ का वडा सदस्य चेतराज पन्तको समन्वयमा डिजाइनिङ गरिएको उक्त मन्दिरको बुधबार (हिजो) श्रद्धालुहरुका बिच प्राण प्रतिष्ठा गरिएको छ।
मन्दिरमा वडा नम्बर- १ की इन्जिनियर अनिता धामीले पनि प्राविधिक सहयोग गरेकी थिइन् । गोदावरी नगरपालिका, वडा नम्बर १ को कार्यालय र प्रदेश सरकारबाट २३ लाख र सहयोगी, चन्दादाताहरुबाट २३ लाख गरी करिब ५६ लाखमा यो मन्दिर निर्माण भएको मन्दिरका मुख्ख्या भिम बहादुर मडैले बताएका छन् ।
केहि सहयोग रकम उठ्न बाँकी नै रहेको उनको भनाई छ । पहाडी जिल्लाबाट तराई बसाइ सरेर आएकाहरुले आफ्नो संस्कार, संस्कृति र देवताप्रतिको आस्था पनि सँगै ल्याएका छन् ।
पुस्तौँदेखि पुजिँदै आएका देवताका थान र परम्परालाई जोगाउँदै उनीहरूले नयाँ ठाउँमा देवी देवताका थान निर्माण गर्न थालेका छन् । यही आस्थाको परिणामस्वरूप गोदावरी नगरपालिका–१ मा घण्टेश्वर पिनाकेश्वरको कलात्मक मन्दिर निर्माण भएको वडा सदस्य एवम् मन्दिर निर्माण समितिका कोषाध्यक्ष पन्त बताउँछन् ।

‘पहाडमा बस्दा पुजिँदै आएका देवताका थानहरू समयसँगै बसाइँसराइको यात्रामा तराईसम्म आइपुगे, उनले भने नयाँ ठाउँमा जीवन सुरु गर्दा स्थानीयहरूले आफ्नो धर्म र संस्कृतिलाई पनि जिवित राख्न यहाँ पनि मन्दिर निर्माण गरेका हौँ ।’ श्रद्धालुहरु सबै एकजुट र सक्रिय भएका कारण उल्लेख्य धनराशीको यो मन्दिर निर्माण सम्भव भएको उनले बताए ।
बुधबार आयोजित प्राण प्रतिष्ठामा बजाइएका दमाहा र भोक्करले अनामनगर क्षेत्र गुन्जायमान भएको थियो । अब हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा मेला लाग्ने घण्टेश्वर देवताका पुजारी दशरथ जोशीले बताए । मन्दिर जस्तो पवित्र स्थल निर्माणमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरे ।
आफ्नो संस्कृति जोगाउन यो परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि जरुरी रहेको पिनाकेश्वर देवताका पुजारी दिर्घराज ओझाको भनाई छ । घण्टेश्वर पिनाकेश्वर देवताको मुल थान जोरायलमै रहेको र अग्रजहरुले तिर्थयात्रा गर्दा यो स्थान बनाएको हुँदा आफूहरुले मन्दिर निर्माण गरेको उनले बताए ।
करिब १ कठ्ठा क्षेत्रफलमा फैलिएको यो मन्दिर निर्माणमा सुरक्षा सामुदायिक वनले काठ सहयोग गरेको थियोे भने जोरायलबाट आएर गोदावरी र धनगढीका विभिन्न स्थानमा बस्दै आएका व्यक्तिहरुले पनि सहयोग गरेका हुन् ।















