
अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ मा करिब ५५ प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा करिब ५४.९७ प्रतिशत मतदान भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।
जोशीका अनुसार यस क्षेत्रमा १ लाख १५ हजार १४३ जना मतदाता रहेकोमा ३१ हजार २५६ महिला र ३१ हजार ७७८ जना पुरुष गरी जम्मा ६३ हजार ३४ जना मतदान प्रक्रियामा सहभागी भएका हुन् । जुन कुल मतदाता संख्याको ५४.७४ प्रतिशत हो ।

त्यस्तै यस क्षेत्रको अस्थाई मतदान केन्द्र तेघरीमा २३ महिला र २३४ पुरुष गरी २५७ जनाले मतदान गरेको जोशीले जानकारी दिएका छन् । त्यस्तै कैलाली क्षेत्र नम्बर-१ मा ५४.४३ प्रतिशत मतदान भएको छ ।
यहाँ १ लाख ८ हजार ४९१ मतदाता रहेकोमा ३१ हजार ९४२ महिला र २७ हजार ११९ पुरुष गरी जम्मा ५९ हजार ६१ जना मतदान प्रक्रियामा सहभागी भएका छन् ।
यहाँको टिकापुर नगरपालिका वडा नम्बर १ मा रहेको एउटा अस्थाई मतदान केन्द्रमा ९ महिला र ८७ पुरुष गरी ९६ जनाले मतदान गरेका छन् ।
त्यसैगरी कैलाली क्षेत्र नम्बर-२ मा ५२.६८ प्रतिशत मतदान भएको छ । यहाँ १ लाख ७ हजार ७५७ मतदाता रहेकोमा ३१ हजार ८१८ महिला र २४ हजार ९५२ पुरुष गरी जम्मा ५६ हजार ७७० जनाले मतदान गरेका छन् ।
जोशीका अनुसार क्षेत्र नम्बर-३ मा १ लाख ९ हजार १२२ मतदाता रहेकोमा ३२ हजार ६२० महिला, २७ हजार ६७२ जना पुरुष र २ जना अन्य गरी जम्मा ६० हजार २९४ जनाले मतदान गरेका छन् ।
त्यस्तै कैलाली क्षेत्र नम्बर-५ मा ५९.६८ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा १ लाख १० हजार ५३९ मतदाता रहेकोमा ३४ हजार ४१५ महिला, ३१ हजार ५४६ जना पुरुष र २ जना अन्य गरी जम्मा ६५ हजार ९६३ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका छन् ।
यस क्षेत्रमा रहेको अस्थाई मतदान केन्द्रमा १९ महिला र १८३ पुरुष गरी २०२ जनाले मतदान गरेका छन् । त्यस्तै कैलाली कारागारमा ३ महिला र २३ पुरुष गरी २६ जनाले मतदान गरेका छन् ।














