
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
देशका विभिन्न स्थानमा मतपेटिका संकलन ढिला भएका कारण अधिकांश क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । तर काठमाडौँ उपत्यकाका काठमाडौँ र भक्तपुर जिल्लाका केही निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेका छन् ।

प्राय स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् । त्यस्तै काठमाडौँका क्षेत्र नम्बर १, ३, ४, ५, ७, ८ र १० मा रास्वपाका उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।
बाँके क्षेत्र नम्बर १ मा पनि रास्वपाले उल्लेख्य मतान्तरसहित अग्रता लिएको छ । यस्तै कञ्चनपुर क्षेत्र नम्बर २ र ३ मा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेको प्रारम्भिक परिणामले देखाएको छ । कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले नै प्रारम्भिक अग्रता बनाइरहेको देखिएको छ ।
नेकपा एमालेका उम्मेदवारहरूले बाँके–२ र भक्तपुर–२ मा अग्रता कायम गरेका छन् ।
अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् । मतगणना जारी रहेकाले प्रारम्भिक परिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना छ ।














