
अत्तरिया – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलालीका सबै पाँच क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अगाडि छन् ।
जारी मतगणनामा कैलाली–५ मा रास्वपाका उमेदवार आनन्दबहादुर चन्दले २० हजार १४३ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उमेदवार नरनारायण शाहले सात हजार १४७ मतसहित पछ्याइरहेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रेमबहादुर आलेले पाँच हजार ६३८, नेकपा (एमाले)का उमेदवार यज्ञराज ढुंगानाले तीन हजार ८०५ मत प्राप्त गरेका छन् ।

कैलाली–४ मा पनि रास्वपाका उमेदवार खेमराज कोइरालाले ९ हजार ६४ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उमेदवार गोरखबहादुर बिष्ट आनन्दले ३ हजार ४०१ मत ल्याएका छन् । एमालेका उमेदवार लेखराज भट्टले २ हजार ७७८ मत प्राप्त गरेका छन् ।
कैलाली–३ मा पनि रास्वपाका उमेदवार जगतप्रशाद जोशी ११ हजार ५५७ मतसहित अगाडि छन् । नेकपाका उमेदवार विरमान चौधरीले सात हजार ५४५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । कांग्रेसका भीम बडुवालले चार हजार ८९०, नागरिक उन्मुक्ति पार्टी, नेपालका उमेदवार विक्रम चौधरीले चार हजार ६१६ मत प्राप्त गरेका छन् ।
कैलाली–२ मा पनि रास्वपाका उमेदवार केपी खनाल चार हजार २८७ मत ल्याएर अग्रस्थानमा छन् । यो निर्वाचन क्षेत्रमा एमालेका उमेदवार सूर्यबहादुर थापा दुई हजार ५५६ मतसहित दोस्रो स्थानमा छन् । कांग्रेसका विजय स्वाँरले दुई हजार १६, नेकपाका उमेदवार नन्दबहादुर साउँदले एक हजार ९९४ मत प्राप्त गरेका छन् ।
कैलाली–१ मा पनि रास्वपाका उमेदवार कोमल ज्ञवाली १५ हजार २१ मत ल्याएर अगाडि छिन् । दोस्रो स्थानमा रहेका कांग्रेसका उमेदवार जनकराज चौधरीले नौ हजार ७१७ मत पाएका छन् । नेकपाका रामलाल डगौरा थारुले सात हजार १७७, एमालेका उमेदवार द्धवारीका न्यौपानेले तीन हजार १८६ मत ल्याएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।















