
अत्तरिया – कैलालीको अत्तरिया चोक क्षेत्रमा वर्षायाममा पानी जम्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित बिहीबारदेखि नयाँ ढल निकास निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
ढल निकास निर्माण कार्यको शिलान्यास गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले गरेका हुन्। सडक विभागले ७२ लाख रुपैयाँको लागतमा उक्त निर्माण कार्य ठेक्का प्रक्रियामार्फत अघि बढाएको हो।

ढल निकास निर्माणको ठेक्का पाएको सप्तऋषि कन्ट्रक्सनका निर्माण व्यवसायी परशुराम भट्टका अनुसार अत्तरिया चोक क्षेत्रमा करिब ३५० मिटर लम्बाइ र करिब ४०० घनमिटर क्षमताको नाली निर्माण भइरहेको छ।
उनका अनुसार पुरानै ढक्कनहरू प्रयोग गर्दै आवश्यक स्थानमा मात्रै नयाँ ढक्कन थपिनेछ। भविष्यमा फोर लेन वा सिक्स लेन सडक विस्तार गर्दा समेत प्रयोग गर्न मिल्ने गरी नालीको डिजाइन गरिएको उनले बताए।
यस पहलले अत्तरिया बजार क्षेत्रमा पानी जम्ने समस्या नियन्त्रणमा ल्याउने मात्र होइन, स्थानीय व्यवसाय र यातायात व्यवस्थापनलाई पनि सहज बनाउने अपेक्षा गरिएको छ।














